मुगु : मुगुलगायत कर्णालीका जिल्लामा विगत एक महिना दिनदेखि अवरुद्ध भएको एडिएसएल इन्टरनेट सेवा शुक्रबारबाट सुचारु भएको छ। गत पुस १७ गतेबाट अबरुद्ध भएको नेपाल टेलिकमद्वारा वितरित एडिएसएल इन्टरनेट शुक्रबार साझाबाट मात्रै सुचारु भएको हो।
कर्णालीका जिल्लामा भएको बाक्लो हिमपातसँगै जुम्लाको डाँफे र दैलेखकको माहावुमा रहेको रेडियो लिंक टावरमा समस्या आएपछि साविकका कर्णाली मुगु, हुम्ला, जुम्ला,डोल्पा,कालीकोट जिल्लाको अधिकांश क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको थियो।
एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको समचार थाहाखबरमा बारम्बार प्रकाशित भएपछि र समाचारलाई कार्यान्वन गरी कर्मचारी काममा निरन्तर खटिएपछि शुक्रबार साँझबाट इन्टरनेट सेवा सुचारु भएको हो। हिमपातसँगै अवरुद्ध भएको नमस्ते मोवाइल सेवा दुई सातापछि सुचारु भएको थियो भने इन्टरनेट सेवा शुक्रबारबाट मात्रै सुचारु भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ। सेवा अवरुद्ध भएपछि जिल्लामा सूचना–सम्पर्कलगायत दैनिक सरकारी तथा गैह सरकारी कार्यालयबाट प्रवाह गरिने सेवामा नागरिकलाई सास्ती भएको थियो।
एक महिनादेखि एडिएसएल सेवा प्रभावित हुँदा विशेष गरी बैंक तथा बित्तीय संस्थाको कारोवार अवरुद्ध भएको थियो भने जिल्लास्थित सञ्चार माध्ययमलाई निकै प्रभावित बनाएको थियो। देशकै प्रमुख पर्यटकीय क्षेत्र रारामा फ्रोरजी सेवा समेत नचल्दा यहाँ आएका आन्तरिक तथा बाह्य पर्यटकले राराको सौन्दर्यता इन्टरनेटमार्फत आफन्तजनसँग साट्न पाएका थिएनन्।
इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत विल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न समेत गाह्रो भएको थियो। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकका अनुसार कर्णालीमा बाक्लो हिमपातपछि नेपाल टेलिकमको दैलेखको महावु र जुम्ला जिल्लाको डाँफे लेखमा राखिएको रेडियो लिङ्कमा समस्या आएको र पटक पटक प्राविधिक टोली लेखमा चढ्न खोजे पनि मौसममा आएको खरावीका कारण केही समय ढिलो हुन परेको बताए। लेख चढन नसकेर समस्या लम्बिएको भए पनि प्राविधिक टोली जुम्लाको डाँफे लेख र दैलेखको महावु लेखमा पुगेर समस्या समधान गरेपछि शुक्रबारबाट इन्टरनेट सेवा सुचारु भएको बताए। यसैबीच जिल्लामा नेपाल टेलिकमसँगै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक सस्था वल्डलिङ, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेको भए पनि यी संस्थाका सेवा नाम मात्रका रहेका छन्।
यिनीहरूले वितरण गरेका इन्टरनेटको गती सुस्त रहेको छ। नेटवर्क गएको हप्तौ दिन वितेको र यो कति लम्बिने निश्चित नभएकाले अग्रिम भुक्तानी गरेका जिएसएम डाटा र एडिएसएलका सेवाग्राहीको अवधि के हुने हो भनेर सेवाग्रही चिन्तित देखिन्छन्।