सुर्खेत । लेकवेशी नगरपालिका–४ मा रहेको जनक माध्यमिक विद्यालयमा अध्ययनरत गिता मल्ल अहिले जुनसुकै कार्यक्रममा सहभागी भएपनि बोल्न र प्रश्न गर्न छोड्दिनन् । केही बर्ष अघि विद्यालय जानै मन नगर्ने गिता अहिले कक्षामा प्रथम छिन् । विद्यालयमा सञ्चालन गरिएको ‘बहिनी शिक्षाका लागि दिदी’ कार्यक्रममा आवद्ध भएपछि उनको क्षमता विकास भएको छ ।
‘पहिले स्कुल नै आउँथिन, कहिलेकाहीँ आउँदा पढाई नै राम्रो थिएन,’ गिताले भनिन्, ‘अहिले यो कार्यक्रमसँग जोडिएपछि बोल्ने बानीको पनि विकास भयो, कक्षामा प्रथम हुन्छु ।’ पहिलेको भन्दा अहिले अंग्रेजी बोल्न र कम्प्यूटरसम्बन्धी पनि सीप विकास भएको उनले बताईन् ।
‘यसमा आवद्ध हुन पाएपछि सबैसँग राम्रो बोल्नुपर्छ भन्ने सिकाई भयो, साथी–साथीबीच समन्वय गरेर पढ्दा आफूले नसकेको कुरा सिक्न सजिलो भएको छ,’ उनले भनिन्, ‘हामीबीच प्रायजसो पढाई र सामाजिक कुरितीका बारेमा छलफल भईरहन्छ ।’
लेकवेशी–४ की उमा खनाल पनि सोही विद्यालयमा कक्षा १० मा पढ्छिन् । बहिनी शिक्षाका लागि दिदी कार्यक्रममा उनी पनि आवद्ध छिन् । उमा भन्छिन्, ‘महिनावारी भएका बेला पहिले घरमै भन्न अप्ठ्यारो लाग्थ्यो, अहिले यही विषयमा अरुलाई पनि सिकाउन सक्ने भएकी छु ।’
पहिले समुहमा बोल्न लाज मान्ने उनी अहिले खुलेर आफूलाई लागेका कुरा भन्न सक्छिन् । बालविवाह, प्रजनन् स्वास्थ्य, महिनावारी, मानव बेचविखन जस्ता विषयमा समूहमा छलफल गरिने र त्यसक्रममा सिकेका कुरा समाजमा अरुलाई पनि सिकाउने गरिएको उमाले बताईन् ।
गिता र उमा जनक माविमा सञ्चालन भईरहेको बहिनी शिक्षाका लागि दिदी कार्यक्रममा आवद्ध ‘सानी बहिनी’ हुन् । यो कार्यक्रमअन्तर्गत समूह बनाएर सिक्ने समुहलाई सानी बहिनी भनिन्छ भने सिकाउने समूहलाई ठूली दिदी भनिन्छ ।
गैरसरकारी संस्था ग्लोबल एक्सन नेपालको सहयोगमा यो परियोजना सुर्खेत केही स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन गरिएको छ । यो परियोजना लेकवेशी नगरपालिकाभित्रका जनक मावि गमखोला, जीवनज्योति मावि दशरथपुुर, खाँडदेवी मावि साटाखानी र आधारभूत विद्यालय पोखराभञ्ज्याङमा सञ्चालन भईरहेको छ ।
जनक मावि गमखोलामा अध्ययरत वाल्मा विक पनि परियोजनाअन्तर्गत सानी बहिनी हुन् । पहिला घरमा नै खुलेर बोल्न नसक्ने वाल्मा अहिले सबैसँग खुलेर बोल्न थालेको उनकी आमा देउरुपा विकाले बताईन् ।
‘पहिला त्यति बोल्नै सक्थिन, अहिले त नेता जस्तै बोल्ने गर्छे,’ देउरुपाले भनिन्, ‘नाँचगानमा पनि त्यत्तिकै सहभागी हुन्छे, पहिला महिनावारी हुँदा पनि घरमा भन्थिन, आजकाल त अरुलाई पनि सिकाउन थालेकी छ ।’ वाल्माले छरछिमेका साथीभाईलाई भेला गरी बालविवाह गर्नु हुँदैन भनेर बेलाबेलामा सिकाउने गरेको देउरुपाले बताईन् ।
परियोजनमा आवद्ध ठूली दिदी खगिसरा खत्रीले १८ बर्षमुनिका छात्रालाई समूहमा आवद्ध गराएर छलफल गर्ने गरिएको बताईन् । उनका अनुसार समूहमा किशोरावस्था, प्रजनन स्वास्थ्य, महिनावारी, मानव बेचविखन, आत्मसम्मान जस्ता विषयमा प्रश्नोत्तर, खेल, अभिनय जस्ता विधिबाट छलफल गर्ने गरिन्छ ।
सानी बहिनीहरुलाई सिकाउँदा आफूले समेत धेरै कुरा सिक्ने अवसर पाएको खत्रीले बताईन् । ‘यो परियोजनामा ठूली दिदी बनेर काम गर्न थालेको दुई बर्ष भयो, यो अवधिमा धेरै कुरा सिक्न पनि पाईयो,’ उनले भनिन्, ‘११ जना बहिनीहरुको मोनिटरिङ गर्दा उनीहरुलाई सिकाउनुपर्ने जति आफूले पनि सिक्न पाएँ ।’
बहिनी शिक्षाका लागि दिदी परियोजनाका सुर्खेत जिल्ला संयोजक खगेश्वरी बोहराका अनुसार यो परियोजनाले कमजोर बालवालिकालाई विद्यालय शिक्षामा टिकाइ राख्न, विद्यालय छोडेका बालिकाहरुलाई शिक्षामा फर्काउन, कमजोर बालबालिकाका लागि सहयोग कक्षा संचालन, विद्यालय तथा समुदाय तहमा बालिका शिक्षाको महत्वका बारेमा जनचेतना जगाउने जस्ता काममा सहयोग पु¥याउने गरेको छ ।