☰ open Loading... 15 November 2024|  

भैँसीपालनमा रमाउँदै उपाध्यक्ष करुणा खड्का, मासिक ५० हजार आम्दानी
  | ११ फाल्गुन २०७६, आईतवार ११:१६

सल्यान : त्रिवेणी गाउँपालिका-३ रिखेबगरकी वर्ष ३५ की करुणा खडका त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष हुन्। २०७४ मा भएको स्थानीय निर्वाचनमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्। तर, उनी आफूलाई जनप्रतिनिधिभन्दा बढी कृषकको रूपमा चिनिन रुचाउँछिन्। जनप्रतिनिधि भएपछि धेरैले आफ्नो पुरानो पेशा व्यवसायलाई त्यागी रहेको समयमा उनी भने आफ्नो व्यवसायलाई झनै बढाउँदै छन्।

उनले आफ्नै नामबाट बहुउद्देशीय कृषि फर्म खोलेर भैँसीपालन गर्दै आएकी छन्। २०६४ देखि तीनवटा भैँसीपालेर सुरुवात गरेको फर्ममा अहिले सानाठूला गरी १३ वटा भैँसी रहेका छन्। भैँसीपालन गरेर मासिक ५० हजार आम्दानी गर्दै आइरहेको उनको भनाइ छ। भैँसीलाई दाना, काम गर्ने व्यक्तिको पारिश्रमिक कटाएर मासिक १५ देखि २० हजार बचत भइरहेको खड्काले बताइन्। जिल्लाबाट अधिकांस महिला पुरुष रोजगारीको लागि विदेशिन थालेपछि विभिन्न काम गरेर आफ्नै गाउँघरमा पनि विदेश बराबर आयआर्जन गर्न सकिन्छ भनी भैँसीपालन थालेको उनले बताइन्।

१३ वटा भैसीमा पाँच साना, आठ ठूलामध्ये एक राँगो रहेको र अहिले पाँच भैँसीले दैनिक २० लिटर दूध दिँदै आएको खड्काले बताइन। ७० रुपैयाँ प्रतिलिटर बिक्री गर्दा दैनिक १ हजार ४ सय आम्दानी हुने गरेको उनको भनाइ छ। उनका अनुसार भैँसीपालनबाट भएको आम्दानीले घर खर्चबाहेक अन्य खर्च गर्न सहज भएको छ। हाललाई १३ वटा भैँसीपालेकी उनले यसलाई विस्तार गर्दै लैजाने सोच बनाएको बताइन।

भैँसीपालनबाट घरका दुईजना मात्र नभई गाउँका दुईजना गरी चारलाई रोजगारी मिलेको उनले बताइन्। उनले भनिन् ‘बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म जनताको काम गर्छु। बिहान बेलुकी फुर्सद भएको समयमा मैले हेर्छु’ उनले भनिन ‘दिउँसो कामदारले हेर्ने गर्छन्।’ उपाध्यक्ष खड्कालाई श्रीमान् खड्गबहादुर खड्काले भैँसीपालनमा सघाउँदै आएका छन्। भैँसीपालन गरेर उत्पादन भएको दूध काभ्रा र रिखेबगर बजारमै खपत हुँदै आएको उनले जानकारी गराइन्।

‘जिल्लाबाट धेरै युवा रोजगारीको लागि खाडीमुलुक पलायन भएका छन्। यसले गर्दा घरमा काम गर्ने कोही नहुँदा भएका खेतीयोग्य जग्गा बाँझै रहन थालेका छन्’ उनले भने। बूढाबूढी समस्यामा पर्न थालेको उनका खड्क बहादुरको भनाइ छ। ‘काम गर्न छाडेपछि परनिर्भरता बढेको छ। नयाँ पुस्ता विदेश नगई गाउँघरमै बसेर विभिन्न व्यवसाय गरून् र हामीले गरेको व्यवसायको सिको गरून भनी भैँसीपालन व्यवसायलाई अगाडि बढाएका हौँ’ उनले भने।

भैँसीपालन रोजगारीको राम्रो माध्यम भएकाले विदेशमा गर्ने मेहनत घरमै गर्न सके छोटो समयमै राम्रो कमाई गर्न सकिने खड्गबहादुरले बताए। भैँसीपालन गर्दा दूध मात्र नभई कम्पोष्ट मल उत्पादन हुने उक्त मल खेतबारीमा प्रयोग गर्न सकिने उनको भनाइ छ।

थाहाखबरबाट