☰ open Loading... 28 February 2025|  

सुर्खेतसहित पश्चिम नेपालमा ठूलो वर्षाको सम्भावना
  | २३ फाल्गुन २०७६, शुक्रबार ०८:०४

सुशील खड्का
सुर्खेत । सुर्खेतसहित आसपासका जिल्लामा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकानुसार पश्चिमी वायु र स्थानीय वायु मिसिएकाले हावाहुरी, चट्याङ, असिनासहित शुक्रबार ठूलो वर्षा हुने सम्भावना रहेको हो ।

पश्चिमी वायु क्रमिक रुपमा सुदूरपश्चिमहुँदै कर्णालीमा प्रवेश गर्ने तयारीमा रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले पश्चिम नेपाललाई जानकारी दिइन् ।

प्रि–मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली भइरहेको हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुँदा ठूलो वर्षा हुने मौसमविद् नगरकोटीको भनाई छ ।

विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ, असिनासहितको वर्षा हुने सम्भावना छ भने हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको नगरकोटीको जानकारी दिइन् ।

हावाहुरी, चट्याङ, असिनासहितको वर्षा दिउँसो र राति पनि हुने सम्भावना छ’ मौसमविद् नगरकोटीले भनिन्, ‘पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना पनि उत्तिकै छ ।’

स्थानीय वायुको मात्रै प्रभाव भएको भए एकछिन ह्वार्रर वर्षा हुन्थ्यो तर पश्चिमी न्यून चापीय प्रणालीसमेत थपिएकाले वर्षा क्षणिक नै हुने तर तुरुन्तै बादली भएर फेरि वर्षा हुने क्रम दोहोरिरहने नगरकोटीको भनाई छ ।

एकछिन वर्षा हुने, रोकिने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दोहोरिरहने क्रम रहेकाले अलि लामै समय वर्षा हुने देखिएको छ’ मौसमविद् नगरकोटीले भनिन् ‘वर्षासँगै हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन जरुरी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम भोली शनिबार पनि रहने र आइतबारदेखी मौसममा सुधार हुने जनाएको छ ।