☰ open Loading... 26 April 2024|  

कर्णालीमा पनि हार्इ अलर्ट बबईमा पठाइयो ३२ जना हेल्थअसिस्टेन्ट
  | ६ चैत्र २०७६, बिहीबार ०७:३०

सुशील खड्का
सुर्खेत । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभीड–१९) का संक्रमित बढ्दो क्रममा छन् । हालसम्म भारतमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु र एकसय ५८ जना संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।


कर्णालीका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेको संख्या उल्लेख्य छ । तर भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि घर फर्कने नेपालीहरुको संख्या पनि ह्वात्तै बढेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर भित्रने मुख्य नाका रत्न राजमार्गको बबईबाट दैनिक एकसय बढी यात्रुहरु भारतबाट फर्कने रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लले जानकारी दिए ।

सरकारले चीनसँग सीमा जोडिएको उत्तरी नाका हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको विमानस्थल र कुइनेमा हेल्थडेस्क स्थापना गरेको छ । डेस्कमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गर्नमा सरकारले ढिलाइ गरेको आभास भएको यात्रुहरुले पनि गुनासो गरेका छन् ।

‘बबईमा मुख्य नाका हो, यात्रुहरुको चाप बढी छ तर चेकजाँचमा कम जनशक्तिले भ्याइनभ्याइ छ’ यात्रु कल्पना शाहीले भनिन्, ‘अझै सरकारले उच्च सतर्कता अपनाउन जनशक्ति थपमा तिव्रता दिन जरुरी छ ।’

बबईम हेल्थडेस्क स्थापना गरेको एकसातापछि सामाजिक विकास मन्त्रालयले उच्च सर्तकता अपनाउन थप जनशक्ति पठाएको जनाएको छ । बुधबार ३२ जना हेल्थ असिस्टेन पठाएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

‘आज २६ जना स्टाफनर्स, अनमीहरु पनि पठाउँदै छौं’ प्रवक्ता अधिकारीले भने, ‘भारत गएका नेपालीहरु धमाधम नेपाल फर्कन थालेपछि उच्च सतर्कता अपनाउन जनशक्तिहरु थप गरेका हौं ।’ अन्य प्रदेशहरुको तुलनामा कर्णाली सरकारले कोरोना भाइरससँग जुध्न सबै तयारी गरिसकेको प्रवक्ता अधिकारीको दावी छ ।