☰ open Loading... 20 November 2024|  

जमुनाहा नाका बन्द : मालबाहक सवारीलार्इ मात्रै खुला
  | ९ चैत्र २०७६, आईतवार १३:०७

सुर्खेत । कोरोनाभाइरस (कोभिड– १९) ले विश्वव्यापी महामारी सिर्जना गरिरहेका बेला बाँकेस्थित नेपाल–भारत जमुनाहा नाकामा एक साताका लागि आजतवाजत बन्द गरिएकाे छ । भारतमा कोरोना संक्रमितहरूको संख्या बढिरहेका बेला एक साताका लागि रुपैडिया–जमुनाहा नाका भएर हुने आवतजावत बन्द गर्न दुवै देशका अधिकारीहरू सहमत भएका हुन् ।

तस्वीर साैजन्य : रुद्र सुवेदी बाँके ।

भारतको उत्तरप्रदेशस्थित बराइच जिल्ला र नेपालको बाँके जिल्लाका सरकारी अधिकारीहरूको रुपैडिया (सीमा नाकाको भारतीय बजार)मा बसेको बैठकले एक साताका लागि आवतजावत रोक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी समेत रहेका उपाध्यायका अनुसार मालबाहक सवारी साधनलाई भने आवतजावत गर्न दिइनेछ ।

नाका प्रवेश गर्नुअघि ती सवारी साधनका चालक/सहचालकको स्वास्थ्य जाँच अनिवार्य गरिने उपाध्यायले बताए । बैठकमा नेपालका तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का लगायतका अधिकारीहरू सहभागी थिए ।

‘बैठक अहिले पनि बसिरहेको छ, जमुनाहा नाकामा १ साताका लागि आवतजावत बन्द गर्ने निर्णय भइसकेको छ,’ उपाध्यायले लोकान्तरसँग भने । भारतमा अहिलेसम्म ३ सय ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाइसकेकाे भारतीय टेलिभिजन अाजतकले जनाएकाे छ ।