☰ open Loading... 26 April 2024|  

बलप्रयोग गरेर भएपनि लकडाउन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
  | २३ चैत्र २०७६, आईतवार १६:३०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बल प्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयमा आज बसेको प्रदेश स्तरिय संकट नियन्त्रण केन्द्रको बैठकमा बोल्दै शाहीले लकडाउनमा कुनै पनि नागरिकलाई अत्यावश्यक बाहेक सडकमा हिड्न नदिन प्रहरीलाई निर्देशन दिएका हुन् ।


प्रदेशका नागरिकको सुरक्षाको जिम्मेवारीप्रति संवेदनशिल हुन आग्रह गर्दै वलप्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी बनाउन सुरक्षा प्रमुखहरुलाई मुख्यमन्त्रीले निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रब बुढाथोकीले जानकारी दिए ।

‘दिनभर घरभित्र वस्ने र वेलुका चोक चौतारामा जम्मा हुनेहरुलाई वलप्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी वनाउनुहोसु’ मुख्यमन्त्रीको भनाई उद्धृत गर्दै प्रेस सल्लाहकार बुढाथोकीले भने ।

मुख्यमन्त्री शाहीले कोरोना भाईरस दोश्रो चरणमा प्रवेश गरेकाले रोकथाम र नियन्त्रणमा तिव्रता दिन पनि निर्देशन दिएका छन् । अव वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको एकिकृत टीम तयार गरि रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन पनि मुख्यमन्त्रीको जोड छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा नेपालमै पहिलो पटक सिमानाकामाहरुमा हेल्थ डेस्क स्थापना स्वास्थ्य जाँच तथा आवागमणलाई कडाई गरेका कारण अहिलेसम्म कर्णाली प्रदेशमा कोरोना भाईरसको संक्रमण नदेखिएको बताए ।

लकडाउनपछि लुकीछिपी विदेशवाट गाउँमा पुगेका नागरिकवाट संक्रमणको जोखिम रहेको बताउदै मुख्यमन्त्री शाहीले वाहिरी मुलुकका वढि संक्रमण भएका मुलुकवाट गाउँमा पुगेका नागरिकको स्याम्पल संकलन गरेर परिक्षण कार्यलाई तिव्रता दिन पनि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीले प्रदेश, जिल्ला, पालिका र टोलस्तरमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एकिकृत टोली निर्माण गर्ने र वडास्तरका टोलीहरुलाई प्रभावकारी रुपमा परिचालन व्यवस्था मिलाउन निर्देशन दिए ।

वडास्तरका एकिकृत टोलीले सेल्फ क्वारेन्टाईनमा रहे नरहेको अनुगमण गर्ने, एक घरवाट अर्को घरमा हुने आवतजावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपुर्ती व्यवस्था मिलाउने संकास्पद विरामीको स्वाव संकलनमा सहयोग गर्ने लगायतका काम गर्नुपर्ने उनको भनाई छ ।

विदेशवाट आएका नागरिक, गर्भवती, वालवालिका र ६० वर्ष माथिका नागरिकको स्वास्थ्य अवस्थालाई विशेष निगरानीमा राख्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले संक्रमण शुरु भैहालेमा मृत्यूदरलाई सकेसम्म कम गर्ने तर्फ पनि ध्यान दिन जरुरी रहेको बताए ।

प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणवाट जोगाउन व्यक्तिगत सुरक्षा सामाग्रिको व्यवस्था गरिरहेको र अपुग सामाग्रि आपुर्तीको लागि सामाजिक विकास मन्त्रालय मार्फत काम भईरहेको पनि जानकारी दिए ।