सुशील खड्का
सुर्खेत । चैत्र ११ गते कैलालीको गौरीफान्टा नाकाबाट कर्णाली आएका नागरिकहरुलाई खोज्न प्रहरी परिचालन गरिएको छ । गौरीफान्टामा भएका एक युवामा कोरोना संक्रमण देखिएपछि कर्णाली आएकाहरुलाई प्रहरीले खोज्न शुरु गरेको हो ।
कर्णाली आएकाहरुमध्य सबैभन्दा बढी सुर्खेतका छन् । रोजगारीका लागि भारत गाएका उनीहरु चैत्र ११ गते नेपाल भारत सीमाको कैलालीस्थित गौरीफान्टा नाकाबाट नेपाल आएका थिए ।
ति मध्य सुर्खेतका ४०, कालिकोटका १६, सल्यान र रुकुमका एक/एक जना छन् । सुर्खेतकाे लेकवेशी नगरपालिकाका १५, चाैकुनेका १०, वीरेन्द्रनगरका ८, गुर्भाकाेटका ५ र सिम्ताका २ जना छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कैलालीसँग समन्वय गरेर सुर्खेत आएका सबैजनाको विवरण मागेर गाउँगाउँमा प्रहरी परिचालन गरिएको छ ।
यता गुर्भाकाेट नगरपालिकाका मेयर हस्त पुनले गाैरीफान्टा नाकाबाट नगरपालिका प्रवेश गरेका पाँच जनालाइ क्वारेन्टीन राखेकाे जनाकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर पुनले भनेका छन् ‘गौरीफन्टा नाकाहुँदै नेपाल भित्रिएका ५ जान गुर्भाकोटबासी ब्यक्तिहरु पालिकामा प्रवेशगर्नु अगाडि नै प्रदेश क्वारेन्टाइनमा राखिएको जानकारी गराउँदछु ।’
हालसम्म कुनै पनि व्यक्ति सम्पर्कमा नअाएपछि पालिकाहरुकाे समन्वयमा खाेज्न प्रहरी परिचालन गरिएकाे जिल्ला प्रशासन कार्यालय सुर्खेत स्रोतले जानकारी दिएकाे छ ।
‘सुर्खेत आएकाहरुमध्य पश्चिम सुर्खेतका धेरै छन्’ प्रशासन स्राेतले भन्यो, ‘आज साँझसम्म उनीहरु सबैको पहिचान गरेर क्वारेन्टीन राख्न गरी प्रहरीलाई परिचालन गरिएको छ ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले सुर्खेत आएका ४१ जनाकै खोजी गरिरहेको जनाए । ‘साँझसम्म कुन पालिकाका कति हुन भन्ने सबै विवरण आइपुग्छ’ रायमाझीले भने, ‘उहाँहरु मध्य काेही हिडेर अाएकाे र काेही बसमा अाएकाे बुझिएकाे छ ।’ प्रहरीले कतिपय वीरेन्द्रनगरकाे खुलामञ्चस्थित क्वारेन्टीनमा बसेकाहरु हुन सक्ने भएकाले नाम संकलन गरिरहेकाे पनि रायमाझिले जनाए ।
अाठ जना वीरेन्द्रनगरकै
गौरीफान्टा नाकाबाट आएकाहरु मध्य अाठ जना वीरेन्द्रनगरका छन् । वीरेन्द्रनगर ९ लाटीकोइलीका तीन मध्य दुइ जनालाई क्वारेन्टीन पठाइसकेको र एक जनाको खोजी गरिरहेकाे वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिए ।
‘प्रशासनबाट प्राप्त विवरणका आधारमा हामीले उनीहरुलाई खोजेका थियौं’ मानन्धरले भने, ‘उहाँहरुलाई उद्धार गर्दा स्वास्थ्यमा त्यस्तो केही समस्या नभएको बताउनु भएको छ, बाँकी रिपोर्ट आएपछि थाहा होला ।’