☰ open Loading... 26 April 2024|  

वीरेन्द्रनगरमा लकडाउन उल्घंन गर्ने २०जना पक्राउ
  | २५ चैत्र २०७६, मंगलवार १७:२९

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा लकडाउनको उल्घंन गर्नेहरु बढ्न थालेको आलोचना बढेपछि सुर्खेत प्रहरीले पक्राउ गर्न थालेको छ । सरकारले आगामी बैशाख ३ गतेसम्म लकडाउन थपेसँगै वीरेन्द्रनगरमा कामविना नागरिक निस्कन थालेपछि प्रहरीले पक्राउ गर्न शुरु गरेको हो ।

आज मंगलबार मात्रै प्रहरीले २० जनालाई पक्राउ गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन लागु भएको लकडाउनको उल्घंन गर्न थालेपछि नागरिकहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

उनले वीरेन्द्रनगरका विभिन्न ठाउँबाट २० जनालाई पक्राउ गरिएको पुष्टी गरे । ‘बारम्बार नागरिकलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दा पनि सडकमा निस्कन मान्नु भएन्’ रायमाझीले भने, ‘कोरानाको संक्रमण फैलिन नदिँन उच्च सर्तकता अपनाउने कार्यमा अवरोध गरेकाले उहाँहरुलाई आजबाट प्रहरीले पक्राउ गर्न शुरु गरेको हो ।’

रायमाझीका अनुसार अत्यावश्यक काममा निस्कनेलाई कुनै अवरोध नगरिएको र अटेरी गरेर सडकमा निस्कनेलाई कारवाही गरिएको हो । उनीहरुलाई कस्तो कारवाही गरिने भन्ने बारे प्रहरीले बताएको छैन् ।

प्रहरीले कामविना सवारी चलाउनेहरुकाे ब्लूबुक र  चाबि नियन्त्रणमा लिन थालेकाे छ । हालसम्म प्रहरीले तीन सय बढी सवारी नियन्त्रणमा लिएकाे छ भने पछिल्लाे समय सवारी साधनका ब्लूबुक र चाबिहरु नियन्त्रणमा लिन थालेकाे छ ।