☰ open Loading... 29 November 2024|  

वीरेन्द्रनगरका अधिकाँश टोलहरुमा प्रवेश निषेध
  | २५ चैत्र २०७६, मंगलवार १७:४२

सुशील खड्का
सुर्खेत । कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागु गरेको आज १५ दिन भयो । शहरी क्षेत्रमा प्रहरीको उपस्थितीले सुनसान देखिएपनि गाउँमा भने नागरिकहरुको आवतजावत बढिरहेको छ ।

लकडाउन दोस्रो पटक थपिदा समेत उच्च सर्तकता अपनाउन हेलचक्राइ गरेको भन्दै वीरेन्द्रनगरका अधिकाँश टोलहरुमा स्वतस्फूर्त टोल नै लकडाउन गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिका क्षेत्रका दर्जन बढी टोल विकास संस्थाको अगुवाइमा टोलमा प्रवेश गर्न नै प्रतिवन्ध लगाउन सडक बन्द गरिरहेका छन् ।


वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा रहेको लालिगुराँस टोल विकास संस्थाले वस्ती छिर्ने चारवटै नाका बन्द गरेको छ । ‘शुरुका दिनमा आवतजावत पूरै बन्द भयो’ स्थानीय सजना सुनारले भनिन्, ‘विस्तारै लकडाउन थपिदै गएपछि बाह्य र अन्य टोलका व्यक्तिहरु पनि सहज रुपमा आवतजावत गर्न थालेपछि सोमबारदेखि टोलमा छिर्ने सबै नाका पूर्ण रुपमा बन्द गरेका हौं ।’

वडा नम्बर १ मा १४ टोल छन् । स्थानीयहरु जुवातास खेल्न जम्मा हुने, ग्रुपमा बस्ने, भारतबाट फर्किएकाहरु पनि भित्रिने क्रम नरोकिएपछि स्थानीय युवाहरु मिलेर टोल प्रवेशमा रोक लगाएको सुनारले उल्लेख गरिन् । वीरेन्द्रनगर– २ को थापा टोल, सिद्धार्थ रिसोर्ट जाने सडक, भैरवस्थान प्रवेश गर्ने भित्रि टोलका नागरिकहरुले पनि सडकमै टीन र बास लगाएर बन्द गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–२ मा रहेको लवस्था गाउँका नागरिकहरु वस्तीमा बाह्य व्यक्तिलाई प्रवेश गर्न नदिन १५ घण्टा गस्ती गरिरहेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चौकीदार राखेर उच्च सर्तकता अपनाउन सक्रिय भएर लागेका छन् ।

टोलमा नयाँ मानिसहरु आए उनीहरुको विवरण राख्ने गरिएको छ । चौधरी र मगर समुदायको बाहुल्यता रहेको लवस्ता गाउँमा स्थानीयहरु आलोपालो नै गरेर गाउको निगरानी गर्दै आएका छन् ।

गाउँका सबै नागरिकहरुलाई कोरोना भाइरसबाट बच्ने उपायबारे समेत घरदैलो अभियान गरेर सचेतना फैलाउने गरेका छन् । गाउँलेहरु नै मिलेर विहान पाँच बजेबाट राती ९ बजेसम्म पालो लगाएर गाउँ प्रवेश गर्ने नाकामा निगरानी गरिरहेको स्थानिय शनिराम चौधरीले जानकारी दिए । गाउँबाट घाँस दाउरा काट्न र गोठाला जानेहरुलाई समेत बाह्य व्यक्तिहरुसँग सम्पर्क नगर्न सिकाउने गरिएको छ ।

तर विदेशबाट आउने नागरिकहरुसंगै गाउमा पनि संक्रमणको उच्च जोखिम रहेकाले उनीहरुको विवरण स्पष्ट राख्ने गरेको चौधरीले बताए । निकास टोल विकास संस्था अन्तरगत रहेको लवस्था टोलमा ४२ घरधुरी छन् । अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन गाउँलेहरुलाई रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले शहरभन्दा ग्रामिण क्षेत्रमा लकडाउनका कार्यान्वयन गर्न चुनौती रहेको बताए । ‘शहरभन्दा गाउँमै प्रहरीले पेट्रोलिङ्ग गस्ती बढाएका छौैं, तर खेतमा घाँस काट्न र गोठाला जानेहरुको भीड हुन्छ’ रायमाझीले भने, ‘उनीहरुलाई कम्तीमा भीडभाड नगर्न र उच्च सर्तकता अपनाउन आग्रह गरेका छौं ।’

समग्रमा जिल्लाका शहरी क्षेत्रहरुमा लकडाउन कार्यान्वयनमा रहेपनि ग्रामिण वस्तीहरुमा कम पालना गरिरहेको सूचना अधिकारी रायमाझीले जनाए । जिल्लाका सबै प्रहरी यूनिटहरुलाई गाउँ–गाउँमा पुगेर लकडाउनको पूर्ण पालना गराउन र बाह्य व्यक्ति आएमा तत्काल पालिकाहरुसँग समन्वय गरेर क्वारेन्टीनमा राख्न निर्देशन गरिएको रायमाझीको भनाई छ ।