☰ open Loading... 29 November 2024|  

चैत्र महिनाको ४० हजार भाडा नलिने मनकारी ‘जुनी’
  | १ बैशाख २०७७, सोमबार २०:५९

सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमणले विश्व नै आक्रान्त छ । झण्डै दुइसय बढी राष्ट्रमा कोरोना भाइरसका कारण हालसम्म एक लाख १६ हजार बढी मानिसको मृत्यु भइसकेको छ, भने १८ लाख ७३ हजार बढी नागरिक संक्रमित भएका छन् । हालसम्म चार लाख ३५ हजार बढी नागरिक उपचापछि सन्चो भएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिँन नेपाल सरकारले पनि गत वर्ष चैत्र ११ देखि लकडाउन लागु गरेको छ । लकडाउनका कारण यातायात, ब्यापार लगायत ठप्प छ । सरकारले लकडाउनमा सबै नागरिकलाई अनिवार्य घरमै बसेर कोरोना रोकथाममा साथ दिन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक कुनै नागरिकलाई घर बाहिर निस्कन बन्देज छ ।

सरकारले लकडाउनका कारण व्यवसाय पनि ठप्प रहेका बेला देउती नागरिक यातायात प्रा.लि. का अध्यक्ष कमल खड्का ‘जुनी’ले घर भाडामा छुट दिएका छन् । वीरेन्द्रनगर–४ यरिचोकमा रहेको केवी इन्टरप्राइजेज अघि चार ओटा सटरहरूमा व्यवसाय गर्ने व्यापारीहरुबाट चैत्र महिनाको ४० हजार भाडा नलिने घोषणा गरेका हुन् ।

विभिन्न व्यवसाय गरिरहेका वीरेन्द्रकुमार बडुवाल, दक्तबहादुर शाही, देमा मगर र कमल रसायलीबाट भाडा नलिने घोषणा गरेको केवी इन्टरप्राइजेजका सञ्चालक खड्काले जानकारी दिए ।

उनले प्रति सटर मासिक १० हजार भाडा बुझ्दै आएका थिए । ‘लकडाउनले सबै बन्द छन्, यस्तो कठिन अवस्थामा उहाँहरुबाट भाडा नलिने घोषणा गरेको हुँ’ देउती नागरिकका अध्यक्ष समेत रहेका सञ्चालक खड्काले भने, ‘विश्व नै कोरोनाका कारण आजित बनेको बेला मैले भाडा लिनु उपयुक्त हुने नदेखिएकाले भाडा छुट गरेको हुँ ।’

खड्काले सुर्खेत शिक्षा क्याम्पसको होस्टेलमा बस्दै आएका ३१ जना विद्यार्थीहरुलाई खाद्यन्न सहयोग गरेका छन् । विभिन्न जिल्लाका विद्यार्थीहरु होस्टलमा बस्दै आएको तर उनीहरुलाई दैनिक गुजरा चलाउन समस्या भएपछि खाद्यन्न सहयोग गरेको खड्काको भनाई छ । उनले पाँच बोरा चामल, दाल र तेल सहयोग गरेका छन् ।