☰ open Loading... 17 May 2024|  

कर्णालीमा कस्तो छ कोरोनाकाे अवस्था ?
  | २ बैशाख २०७७, मंगलवार २०:४६

सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशमा थ्रो स्वाब परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । सुर्खेत र काठमाडौंको ल्यावमा गरी हालसम्म एकसय ९८ जनाको थ्रो स्वाब परीक्षण गरिएको हो ।

परीक्षण गरिएका सबैको रिपोर्टमा कोरोना भाइरसको संक्रमण नदेखिएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यले जानकारी दिए ।

परीक्षण गरिएका स्वाब मध्य सुर्खेतमा एक सय ३८ र काठमाडौंमा ६० जनाको हो । हालसम्म काठमाडौंमा परीक्षणमा पठाइएका २९६ जनाको स्वाब मध्य ६० जनाको मात्रै रिपोर्ट आएको इन्चार्ज आचार्यको भनाई छ ।

‘बाँकी पनि रिपोर्ट आउने क्रममा छन्’ ल्याव इन्चार्ज आचार्यले भने, ‘हालसम्म कर्णालीमा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छैन् ।’ प्रदेशमा रहेका ल्याब मेसिनले स्वाब परीक्षणको चाप धान्न नसकेपछि संकलन गरिएका स्वाबहरु काठमाडौं पठाइएको हो ।

मंगलबार मात्रै रुकुमपश्चिम, सल्यान र दैलेखका ९९ जनाको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । रिपोर्ट भने आउन बाँकी रहेको ल्याब इन्चार्ज आचार्यको भनाई छ ।

‘केन्द्र सरकारले प्रदेशमा पठाएका पाँच हजार ¥यापिड टेस्ट किटबाट पाँच सय जनाको परीक्षण गरिएको छ’ आचार्यले भने, ‘उनीहरुको रिपोर्ट पनि नेगेटिभ नै छ, ¥यापिड टेस्टमार्फत परीक्षण गर्न सबै जिल्ला र पालिकास्तरका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिइसकेका छौं ।’

क्वारेन्टाइनमा बसेकाको पाँच जनाकाे रिपोर्ट नेगेटिभ
वीरेन्द्रनगरको खुलामञ्चमा बसेका पाँच जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनीहरुमध्य चार जना दैलेखको आठविस तथा चामुण्डाविन्द्रासैनी नगरपालिका र एक जना नौमुलेका हुन् ।

क्वारेन्टाइनमा रहेका १८८ जना मध्य १८३ जनाको यसअघि नै रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो । पाँच जनाको रिपोर्ट आउन बाँकी रहेकाले उनीहरु क्वारेन्टाइनमै थिए ।

मंगलबार उनीहरुको रिपोर्ट पनि नेगेटिभ देखिएपछि प्रदेश सरकारको समन्वयमा उनीहरुले घर पठाइएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लले जानकारी दिए ।