सुशील खड्का
सुर्खेत । नेपाली सेनाको व्यवस्थापनमा निर्माण गरिएको वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा ३५ जनालाई राखिएको छ । नेपालका विभिन्न जिल्लामा रोजगारीका लागि गएकाहरुलाई मध्यराती क्वारेन्टानमा राखिएको हो ।
उनीहरु केही दिन अघि सुर्खेत–बर्दियाको सीमा बबइमा आएर रोकिएका थिए । क्वारेन्टाइनमा राखिएकाहरु मध्य ३३ पुरुष, एक/एक जना महिला र बच्चा छन् । यी मध्य दैलेखका १०, जाजरकोटका ८, सुर्खेतका ६, सल्यानका ५, जुम्लाका ३, अछामका २ र रुकुमपश्चिमका एक जना छन् ।
मकवानपुर, सप्तरी, रुपन्देही लगायतका जिल्लाबाट आएका उनीहरुबाट थप संक्रमण फैलिन नदिँन उच्च सर्तकता अपनाउन क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
‘उच्च सावधानी अपनाउनकै लागि कर्णालीमा आउने नयाँ व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेका हौं’ मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ, रिपोर्टपछि मात्रै के गर्ने भन्ने निर्णय लिनेछौं ।’