☰ open Loading... 9 July 2025|  

आत्महत्या गरेका दैलेखका युवाको कोरोना रिपोर्ट पोजेटिभ
  | ११ असार २०७७, बिहीबार १७:२७

सुशील खड्का
सुर्खेत । आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । दुल्लु नगरपालिका–१० छुवाला घर भएका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोष्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ, शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’

गत जेठ ११ गते भारतबाट दैलेख आएका ति युवा पञ्चकोशी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टीनमा बसेको १० नम्बर वडाध्यक्ष हर्क खड्काले जानकारी दिए । उनीसँगै क्वारेन्टीनमा बसेका २११ जनाको आरडीटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको अध्यक्ष खड्काको भनाई छ ।