☰ open Loading... 27 November 2024|  

जाजरकोटमा विस्थापित परिवारको विजोग
  | २९ असार २०७७, सोमबार ०७:५८

जाजरकोट असार २९ -जाजरकोट बारेकोट गाँउपालिका ४ मैनाका दानबहादुर नेपाली आइतवार दिनभर हेलिकोप्टरको प्रतिक्षामा थिए । हेलिकोप्टरले केही खानेकुरा ल्याउला र पेट भरुँला भन्ने उनको आशा हेलिकोप्टर बस्न नसकेपछि एकाएक निराशामा परिणत भयो ।

बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेत सहित जिल्लाका साँसदहरु राहत सामग्री लिएर आउने हल्ला शनिवार देखि नै विस्थापित परिवार सम्म पुगिसकेको थियो । उनीहरु राहत आउने आसमै थिए । तर खराब मौसमका कारण गोठ गाँउ पुगिसकेको हेलिकोप्टर बस्न नसकेर लिम्सा खोलाको किनार र ठकुरी जिरी स्थित मकैबारीमा बसेको थियो । खाद्यन्न सामग्री तथा गैरखाद्य सामग्री त्यही छोडेर विस्थापित सम्म नपुगेरै मन्त्री सहितको टोली फर्किएको छ ।
दानबहादुरको ६ जनाको परिवार पहिरोको त्रासले स्थानिय एक विद्यालयमा आश्रय लिएर बसिरहेको छ । तर उनी सँग खाने अन्न छैन । के खाएर बाँच्ने उनले भने ‘म मात्र होइन विस्थापित सवै परिवारको विजोग छ । न ओढ्ने कपडा छ । न खाने गास नै ।’ दिनभर हेलिकोप्टरकै प्रतिक्षामा थियौ आएर पनि बस्नै सकेन । कुहिरो लागिरहेको थियो । पानी परिरहेको थियो । दुई तिन चक्कर फन्को लगाएको देख्यौ । खराब मौसमकै कारण हुनुपर्छ हेलिकोप्टर प्रभावित गाँउमा बस्नै सकेन । मन्त्री सँग आफुहरुका समस्या सुनाउने योजना अधुरै रहयो उनले भने ‘पानी परिरहेकोले चिसो पनि बढिरहेको छ । खाने अन्न र प्रयाप्त कपडा नहुँदा धेरै विस्थापित परिवारको विचल्ली भएको छ । घर छोडेको तीन दिन भैसक्यो । घरबाट ल्याएको आज सम्म जेनतेन चलायौ । अव के खाएर बाँच्ने ?’

बारेकोट ५ भैलोखानाका पृथ्वीबहादुर नेपालीको १० जनाको परिवार छ । उनको परिवार तीन दिन देखि स्थानिय कालिका आधारभुत विद्यालय सिनचौरमा बसिरहेको छ । विद्यालयको छाना चुहिदो रहेछ । यही विद्यालयमा दुई भन्दा बढी मानिसहरु कोचाकोच गरेर बसिरहेका छन् । खाने गास नहुँदा आफुहरु निकै समस्यामा परेको उनले बताए । आफु सँग भएको अन्नपात सवै सकियो । अहिले सम्म कतैबाट राहत पाईएको छैन । अव जहानकेटाकेटीको पेट कसरी भर्ने ? उनले चिन्ता प्रकट गदै भने ‘खानाको ठेगान छैन । सुत्नको ठेगान छैन । बालबच्चा र बृद्धबृद्धा निकै समस्यामा परेका छन् । डरलाग्दो पानी परिरहेको छ । हेलिकोप्टरले राहत ल्याउँछ भन्थे । तिन दिन भैसक्यो । हाम्रो त विजोग भैसक्यो । हामी अझै राहतको पर्खाइमै छौ ।’

दानबहादुर र पृथ्वीबहादुर जस्तै पाँच सय बढी विस्थापित परिवारको यतिवेला विचल्ली भएको छ । गास, बास र कपासको समस्यामा परेका छन् । विस्थापित अधिकांश परिवार विपन्न बर्गका छन् । गरीवीकै कारण भिरालो जमिनमा घर बनाएर बस्न बाध्य उनीहरु यतिवेला ठुलो विपत्तिमा परेका छन् ।

विस्थापितहरु थातथलो छाडेर अन्यत्र जान सक्ने अवस्था पनि छैन । अत्याधिक बर्षातले जमिन पुरै थिलोथिलो भएको छ विरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले भने ‘धेरै ठाँउमा पहिरो गएर चिराचिरा पारेको छ । यसै त बर्षेनी यतिवेला खाद्य संकट पर्ने बारेकोटमा गएको पहिरोले खाद्य संकटको जोखिम बढाएको बताए । विस्थापित परिवार सँग खाने अन्न छैन । खाद्य डिपो रित्तै छ । गहँ मकै, कोदो पिस्ने घट्ट बाढीले बगाईदिएको छ । किनेर खाने बजार छैन । बाटोघाटो अवरुद्ध छ । यतिवेला बारेकोटी जनता निकै समस्यामा छन् । तत्काल सरकारले खाद्यन्न लगायतका राहत सामग्री पठाउनुपर्छ ।’ बारेकोटमा यतिवेला स्थलमार्गबाट खाद्यन्न ढुवानी गर्न सक्ने अवस्था छैन । एक मात्र विकल्प भनेको हेलिकोप्टरका माध्यामबाट ढुवानी गर्ने हो ।

पहिरोले गाँउ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा पाँच सय बढी परिवारका दुई हजार पाँच सय बढी मानिसहरु विस्थापित भएका छन् ।
प्रहरीका अनुसार बारेकोट १ कोट्लीका १२ परिवारका ६० जना, सोही वडाको धौलाकोटका ३२ घरका एक सय २५ जना, वडा नम्बर ४ जिरीका ५१ परिवारका दुइ सय १५ जना, गोठगाँउका ७३ घरका तीन सय ७० जना, तल्लो जिरीका ३० घरका एक सय पचास जना, मैनाका ६० घरका तीन सय जना र वडा नम्बर ५ का कालाखोली, तोल्खान, भैलोखानाका एक सय ५० घरका नौ सय जना विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको तथ्यांक अनुसार तिन दिन यता अहिले सम्म बारेकोटमा करीब पाँच सय घर विस्थापित भएका छन् । दुई हजार पाँच सय बढी मानिस विस्थापित भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले जानकारी दिएका छन् ।

बारेकोटमा गएको पहिरोले ठुलो धनजनको क्षति पुरयाएको छ । विस्थापितको संख्या अझै बढ्न सक्ने जनाईएको छ । गाँउपालिकाले विस्थापितको विवरण संकलन भैरहेको जनाएको छ ।

गाँउपालिका अध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतकोे परिवार समेत विस्थापित

पहिरोको त्रासले गाँउपालिका अध्यक्ष महेन्द्र शाह, वडा नम्बर ५ का वडाध्यक्ष अजबीर सिह र निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिंहको परिवार विस्थापित भएको छ । अध्यक्ष शाहले आफ्नो परिवार विस्थापित भएर विद्यालयमा बसिरहेको छ तर पनि आफु बेपत्ताको खोजी र विस्थापितको राहत तथा ब्यवस्थापनमा जुटिरहेको बताएका छन् । वडाध्यक्ष अजविर र प्रशासकिय अधिकृत गोविन्दको परिवार पनि पहिरोको त्रासले विस्थापित भएका छन् । तर तीनै जना गाँउपालिकाको काम, उद्धार र बेपत्ताको ब्यवस्थापनमा जुटिरहेका छन् ।पानी निरन्तर परिरहेकोले जमिन भासिने र पहिरो जाने क्रम नरोकिदा बारेकोटका जिरी, तल्लो जिरी , धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा लगायतका गाँउ नै बग्ने खतरा बढेर गएको गाँउपालिका अध्यक्ष शाहले बताए ।


पहिरो जाने डरले घर छोडेका स्थानियहरु विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरहरुमा त्रिपाल हालेर बसिरहेका छन् । धेरैजससो विस्थापितहरु भगवति आधारभुत विद्यालय, हिमालय माध्यमिक विद्यालय गोठगाँउ, गोरख आधारभुत विद्यालय जिरी लगायतका विद्यालयमा आश्रय लिएर बसेका छन् । विस्थापित परिवारलाई खान र बस्नको निकै समस्या परेको छ । विस्थापितहरुलाई शौचालय र खानेपानीकोे समेत समस्या परिरहेको छ । ठुलो संख्यामा मानिसहरु विस्थापित भएकाले ब्यवस्थापनमा कठिनाई भएको गाँउपालिका अध्यक्ष शाहले बताए । गाँउपालिकाले पहिरो जाने क्रम नरोकिएकाले सर्तक र सचेत रहन सवैलाई आग्रह गरेको छ। 

बन तथा वातावरण मन्त्री बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, साँसद सत्या पहाडी, साँसदहरु भैरवसुन्दर श्रेष्ठ र मायाप्रसाद शर्मा सहितको टोेली त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री लिएर आइतवार दिउसो हेलिकोप्टरबाट बारेकोट पुगेको थियो । तर खराब मौसमका कारण हेलिकोप्टर बस्न र राहत सामग्री खसाल्न तय गरिएको स्थानमा बस्न नसकेर फर्किएको प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिहले बताए । उनले गोठगाँउ, सिनाचौर, लिम्सा र जिरीमा हेलिकोप्टर बस्ने भनिएपनि बस्न नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीमा बसेर राहत सामग्री छोडेर गएको बताए । त्यहाँबाट राहत सामग्री विस्थापित सम्म पुरयाउन पैदलै ५÷६ घण्टा लाग्न सक्ने अवस्था छ । खोलानाला बढीरहेका छन् । बाटोघाटो विच्छेद छ ति सामग्री कसरी पिडित सम्म पुरयाउने समस्या भएको उनले बताए । त्यो राहत सामग्री त्यति धेरै विस्थापितका लागी हात्तीको मुखमा जिरा हुने स्थानियको गुनासो छ।