☰ open Loading... 26 April 2024|  

लघु औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी
  | ९ श्रावण २०७७, शुक्रबार १८:११

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको लघु औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । प्रदेशका लघु तथा साना उद्यमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्राम आगामी ६ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको हो ।

वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको परिसरमा निर्माण भइरहेको लगु औद्योगिक ग्रामको काम अन्तिम चरणमा पुगेको छ । विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत वर्ष प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयलाई हास्तान्तरण गरिएको थियो ।

६ ब्लक रहेको ग्रामको हालसम्म भौतिक प्रगति झण्डै ८५ प्रतिशत भएको निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले जानकारी दिए । असारसम्म सक्नु पर्ने औद्योगिक ग्रामको निर्माण बन्दाबन्दीका कारण ढिलाइ भएको निर्माण व्यवसायी एसविए÷रविन जेभीले जनाएको छ ।

बन्दाबन्दी खुलेसँगै अबको ६ महिना भित्र निर्माण सकेर हस्तान्तरण गर्ने जेभीको भनाई छ । सात करोड २४ लाख ८२ हजार लागतमा निर्माण भइरहेको औद्योगिक ग्रामको काम ०७४ फागुनबाट निर्माण थालिएको हो । साना तथा लघु उद्यमीले उत्पादन गरेका बस्तुहरु राख्ने उदेश्यले ग्राम निर्माण गरिएको निर्देशक योगीको भनाई छ ।

औद्योगिक ग्राम सञ्चालनका लागि निर्देशिका बनाउने तयारी समेत कार्यालयले गरिरहेको छ । ग्राम बनेपछि यहाँका उद्यमीहरुले सीप भएपनि उत्पादनका लागि ठाउँ पाएनौं भन्ने गुनासो अन्त्य हुने विश्वास निर्देशनालयको छ । कर्णालीमा विभिन्न सामग्रीहरु उत्पादन गर्ने उद्यमीहरु रहेकाले उनीहरुको प्रवद्र्धन हुने र उत्पादित सामग्री विक्री गर्न ग्रामले सहयोग पुग्ने अपेक्षा सरकारको छ ।