☰ open Loading... 24 November 2024|  

घाँस बेचेर खेलकुद सामग्री सहयोग
  | १५ श्रावण २०७७, बिहीबार १९:४९

सुर्खेत । सहयोग परिस्थितिले गरिन्छ । ठाउँ र अभावले सहयोगी हातहरू अघि बढ्छन् । तब सहयोगी मन सहयोग गर्न तत्पर हुन्छ । सानो वा ठूलो जुनसुकै काम गरेर पनि सहयोगी हात बढाउन सकिन्छ। सुर्खेत वीरेन्द्रनगरस्थित सुगारीका कृषि फार्मले पनि घाँस बिक्री गरेर खेलकुद सामग्री सहयोग गरेको छ ।

लेकवेशी नगरपालिका–६, कल्याणका युवाहरूलाई दुईवटा बल र नेट (जाली) सहयोग गरेको हो । भलिबलका पूर्व प्रशिक्षकसमेत रहेका फार्म सञ्चालक सुशिल केसीले आवश्यकताका आधारमा उनीहरूलाई खेलकुद सामग्री सहयोग गरेको बताए । ‘म गाउँ गएको थिए,’ उनले भने, ‘त्यहाँ थोत्रो बल र ठाउँठाउँमा च्यातिएको जाली थियो ।’ सामग्री अभाव भएको र खेलका लागि युवाहरूमा चासो धेरै देखेपछि खेलकुद सामग्री सहयोग गरिएको उनले बताए ।

उनले आफ्नो बारीमा सुप नेपियर घाँस लगाएका छन् । यही घाँस बिक्री भएको पैसाले खेलकुद सामग्री सहयोग गरिएको उनको भनाइ छ । त्यस्तै बल हस्तान्तरण गर्दै नेपाली कांग्रेसका नेता गोविन्द काइरालाले यो सानो सहयोग भए पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । खेलकुद सामग्री पाएपछि यहाँका युवाहरू खुसी भएका छन् । ‘खेलकुद सामग्री नहुँदा हामीलाई समस्या भएको थियो,’ यहाँका युवा सन्तोष विकले भने, ‘बल र जाली पाएपछि सजिलो हुनेछ ।