☰ open Loading... 26 April 2024|  

सुन्दर सदरमुकाम बनाउने अभियान
  | १६ श्रावण २०७७, शुक्रबार ०९:१०

 

दैलेख – जिल्लाको सदरमुकाम नारायण नगरपालिकालाई सुन्दर सदरमुकाम बनाउने अभियानमा युवाहरु अग्रसर भएका छन् । सहरीकरण र अव्यवस्थित बजारीकरणका कारण दुर्गन्धित बन्दै गएको जिल्ला सदरमुकामलाई सफा स्वच्छ सदरमुकाम बनाउन लागिएको हो ।

सदरमुकामबाट सुरु गरिएको यो अभियान जिल्लाभर लागु गरिने अभियानकर्ताको भनाई छ ।

सुन्दर दैलेखकाे परिकल्पना अन्र्तगत ‘क्लिन सिटी अफ दैलेख’ अभियानले दैलेख सदरमुकाम क्षेत्रलगायत अन्य शाखा बजारको फोहाेर सङ्कलन गर्न कन्टेनर सहयोग हस्तान्तरण गरिएकाे क्लिन सिटी अफ दैलेखका संयोजक राजेशकुमार हमालले बताए ।
बिहीबार सोही अभियान अन्र्तगत उक्त क्लिन सिटि अफ दैलेखले एक कार्यक्रमकाबिच नारायण नगरपालिका– १ लाई फोहोर राख्ने कन्टेनर (डस्टविन) हस्तान्तरण गरेको छ ।

बजार क्षेत्रका लागि ६ वटा स्ट्याण्ड सहितकाे जल्ने–नजल्ने तथा कुहिने–नकुहिने कन्टेनर हस्तान्तरण गरिएकाे हाे । अभियानका संयाेजक हमालले नारायण नगरपालिका– १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ (ध्रुब) लाई कन्टेनर हस्तान्तरण गरेका हुन् ।

नारायण नगरपालिका– १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले क्लिन सिटी अफ दैलेख धन्यवाद दिँदै भने, ‘उहाँहरूले हामीलाई फोहर व्यवस्थापनमा सहयोग गर्ने भएको छ, उहाँहरूले दिएको कन्टेनर व्यवस्थित भएकोले हामीलाई झनै सहयोग पुगेको छ ।’

नगरका फोहोर जम्मा हुने विभिन्न ठाउँमा कन्टेनर राखिने र त्यहाँ सङ्कलन भएको फोहर नगरपालिकाले व्यवस्थापन गर्ने भएकोले सदरमुकाम सफा बनाउन ठूलो सहयोग पुगेको उनले धारणा राखे ।

दैलेख सदरमुकाम बजारमा बाह्य तथा आन्तरिक पर्यटनको बाक्लो उपस्थिति हुने र बजारमा अन्य क्षेत्रकोभन्दा जनघनत्व पनि बाक्लो रहेकोले फोहर व्यवस्थापन गर्न केही कठिनाइ भएको स्थानीयको भनाई छ ।

विभिन्न प्रकारका फोहरहरु एकै ठाउँमा फाल्दा र विसर्जन गर्दासमेत समस्या आउने कुरालाई मध्यनजर गर्दै जल्ने–नजल्ने तथा कुहिने–नकुहिने विभिन्न प्रकृतिका फोहरलाई फरक–फरक कन्टेनरमा राखी सजिलै व्यवस्थापन गर्ने उद्देश्यले कन्टेनर वितरण गरिएको अभियानका सह–संयोजक अभिषेक अनुरागले बताए ।