☰ open Loading... 15 November 2024|  

विकासमा झेल, आठ करोडको कालोपत्रे एक वर्षमै भत्कियो
  | ५ भाद्र २०७७, शुक्रबार २२:२०

सुर्खेतभदौ ५जाजरकोट खलंगाको शान्ति चौतारादेखि कालेगाउँसम्मको ६ किलोमिटर सडक कालोपत्रे गरेको एक वर्षमा जीर्ण भएको छ ।

काम गर्ने ठेकेदार कम्पनीले मापदण्डविपरित गुणस्तरहीन काम गरेकोले सडक जीर्ण भएको स्थानीय गुनासो छ । सडक निर्माण कम्पनीले सडकको कालोपत्रे गर्ने काममा मनोमानी गरेका कारण १ वर्षमै जीर्ण भएको भन्दै यहाँका स्थानीय आक्रोशित भएका छन् ।



कालोपत्रेको जिम्मा लिएको राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीले आफ्नो सजिलो र कम खर्चमा काम गरेर जाँदा यहाँका सरोकारवाला निकायले चासो नदेखाएकोे भेरी नगरपालिका ४ का कृष्ण खत्रीले बताए ।

सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले २०७५ असोजमा गरेको कालोपत्रे एक वर्षमै दर्जनौँ खाल्डाखुल्डी पर्दा पनि सरोकारवाला निकाय चुप लागेको छ । यो भन्दा गैरजिम्मेवार कार्य के होला र ? खत्रीले भने ।
जिल्लाको खलंगाबाट रुकुम र डोल्पाको मुख्य सडक खण्ड ठेकेदारको लापरबाहीले गर्दा दर्जनौँ खाल्डा परेका छन् ।

यसप्रति सडक विभाग, नगरपालिका र अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । सडक कालोपत्रे भएको केही महिनामै भत्किने गरी काम भएकोले कुनै निकायले चासो नदिनु दुःखद् भएको उनीहरू बताउँछन् ।

२०७३ साल असार ३१ गते कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनीले २०७६ बैशाखमा काम सम्पन्न गरेको थियो । कुल ८ करोड ७२ लाख लागतमा कालोपत्रे गर्ने सम्झौता भएको थियो ।

८ करोड लागतमा कालोपत्रेको काम सम्पन्न गर्ने ठेकेदार कम्पनी अहिलेसम्म नफर्केको स्थानीय ईश्वरी खत्रीले बताए। 

यस्तै उनले स्वास्थ्य सेवा कार्यालय नजिकैको मोडमा रहेको ग्याबिनको बीमा काम नगरी भुक्तानी लिएको स्थानीयको आरोप छ ।

राजेन्द्र जलजला कन्स्ट्रक्सनले जाजरकोट–डोल्पा सडकखण्ड अन्तरगत खलंगामा ६ किलोमिटर सडकको स्तरोन्नतीसहित कालोपत्रे गर्ने क्रममै बदमासी गरेको स्थानीय मोहन खड्काले बताए । कालोपत्रे गर्ने क्रममा रोलरले गिट्टी पेल्नु पर्नेमा टिपर र ट्याक्टरले काम चलाउ गरी ठेकेदारले कालोपत्रे गरेको उनको भनाइ छ ।

कालोपत्रे गरिसकेको करीब ३० मिटर सडकमा पहिरो गएपछि पुनः कालोपत्रे गर्ने क्रममा रोलरको सट्टा ट्याक्टर र टिप्पर प्रयोग गरिएको ठेकेदारले स्वीकार गरेका छन् । २०७५ सालमा भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्ती र तत्कालिन प्रमख जिल्ला अधिकारी ललीत कुमार बस्नेतको अनुरोधका ट्याक्टर र टिप्परबाट पेल्ने काम रोकिएको खड्काले बताए ।

‘सडक कालोपत्रे गर्दा आवश्यक उपकरण ल्याएर मात्र गर्नुपर्ने हो,’ उनले भने, ‘सडक मापदण्ड अनुसार काम भएन ।वर्षातका बेला ठाँटीस्थित रेडक्रसको भवन नजिक पहिरो गयो । यस्तै सिटिजन बैंक नजिकको केही सडक खण्ड पहिरोले क्षती भयो । क्षती भएको ठाउँमा पिच गर्ने काममा ठेकेदारले गैरजिम्मेवार ढङ्गले रोलर प्रयोग गरेको हामीले देखेका हौँ ।’

निर्माण कम्पनीका प्रतिनिधि प्रजित लामाले गिट्टी चप्काउन रोलरको आवश्यकता नपर्ने बताए । ‘सवारी साधन चलाउँदै जाँदा आफै गिट्टी चप्किन्छ’ उनले भने, ‘तर त्यतिबेला स्थानीयको माग र प्रशासनको निर्देशअनुसार नै काम रोकेर रोलर (पेल्ने मेसिन) झिकाएर काम गरेको छु ।’

शान्तिचौतारादेखि कालेगाउँ सडक खण्डमा सडक जीर्ण भएकोले लकडाउनपछि मर्मत सम्भार गर्ने ठेकेदार प्रजित लामा जानकारी दिए । डि.बि.एस.डि. पिच गरेको ३ दिन नहँुदै घडेरी खनेर सडकमा माटो फालेर नाला बन्द गरेपछि पिच सडक भत्किएको ठेकेदारको आरोप छ ।

सदरमुकाम शान्तिचौतारादेखि तल्लो थाप्लेसम्म घर निर्माणका सामानहरू सडकमा राख्ने गरेको लामाको भनाई छ ।

स्थानीयले सडकमा जथाभावी सामग्री राखेर क्षति गरेकोले कारबाही गर्ने निकायले चासो नदेखाएको उनले बताए । सडकमुनि ‘वाल’हरू लगाईएको ठाउँमा शौचालय र बाथरुमको पाइप खुल्ला रूपमा ‘वाल’ को जगमा फालिएकोले सडक भाँसिएर जीर्ण भएको लामाको भनाइ छ ।

‘तर जीर्ण भएको सडकखण्ड एक चरण मर्मत सम्भार गर्छु । अहिले म साइटमा छु,’ उनले भने, ‘जाजरकोटको बाटो पिचको लागि बाहिरबाट कामदार ल्याउनुपर्छ । अहिले एक जिल्लाबाट अर्को जिल्ला जानसमेत नसकिने अवस्था छ । सडक डिभिजन कार्यालय चौरजहारीबाट बैंक ग्यारेन्टी ल्याएको छैन ।’ कार्यालयको प्राविधिक मूल्याङ्कन प्रतिवेदन अनुसार भुक्तानीको लागि तयार रहेको लामाको भनाइ छ ।

सडक निर्माणको जिम्मा लिएको ठेकेदारलाई सडक मर्मत गर्न लगाउने सडक डिभिजन कार्यालय चौरजहारीका कार्यालय प्रमुख नरेन्द्र भट्टले बताए । २०७६ सालमा सम्पन्न उक्त सडक खण्ड १ वर्षमै जीर्ण भएपछि कार्यालयले धरौटी र बैंक ग्यारेन्टीसमेत रोक्का राखेको भट्टले जानकारी दिए ।

‘कुनै आयोजनाको काम सम्पन्न भएको १ वर्षसम्म भत्के बिग्रे स्वयं ठेकेदारको जिम्मा हुन्छ ।’ उनले भने, ‘कालोपत्रे भत्केपछि राजेन्द्र जलजला कन्स्ट्रक्सन जेभीको धरौटी र बैंक ग्यारेन्टी रोक्का गरेका छौँ । कार्यालयबाट प्राविधिक पठाएर एकचोटी सडक मर्मत गर्न लगाउँछौँ ।’ सरकारले जारी गरेको लकडाउनका कारण कामदार ल्याउन समस्या भएको कार्यालयको दाबी छ ।

सरकारले असारमा मात्र लकडाउन खोलेकोले हाल बर्खामा कालोपत्रेको काम तत्काल गर्न नसकिने अवस्थामा रहेको उनले बताए । सदरमुकाम खलंगाका स्थानीयहरुले जथाभावी फोहोर पानी फाल्नाले सडक छिट्टै जीर्ण भएको कार्यालयको दाबी छ ।

अस्पताल मोडमा राखिएका होम पाइपमा समेत स्थानीयले फोहर फालेर थुनेपछि पानी सडकमा बगेर थप क्षती भएको कार्यालयका सुचना अधिकारी नेत्र पौडेलले जानकारी दिए । ‘सडकमा धेरै समय पानी रोक्न नमिल्ने भएकोले स्थानीयको अरुवद्धले नाला काट्न नदिएका कारण सडक र बस्ती जोखिमा रहेको छ ।’ उनले भने, ‘कार्यालयमा सडक नालासम्बन्धी कार्यक्रम नभएको कारण नाला बनाउन सकिदैन ।’ सडक निर्माणको जिम्मा पाएको ठेकेदारले नाला बनाउने विषयमा स्थानीयसँग परामर्श गर्दा नाला खन्न अवरुद्ध गरेको कार्यालयको आरोप छ ।

सडक मर्मतको लागि नगरपालिकाले काम गरिरहेको भेरी नगर प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । राजेन्द्र जलजला कन्स्ट्रक्सनले जाजरकोट–डोल्पा सडकको खलंगा खण्डमा ६ किलोमिटर सडकको काम सम्पन्न गरेतापनि मर्मतका कार्यमा नगरपालिकाले सहयोग गर्दै आएको उनको भनाई थियो ।

‘प्रत्येक वर्ष बर्खाले सडक अवरुद्ध गर्दा नागरीकले सास्ती खेप्छन् ।’ उनले भने, ‘स्थानीय सरकारले सडक मर्मतको लागि कार्यालयबाट सहयोग गर्दै आएको छ । मुख्य सडक खण्ड अवरुद्ध हँुदा यहाँका व्यापारीलगायत यात्रुहरु प्रत्येक वर्ष सास्ती खेप्दै आएका छन् ।’ सडक डिभिजन कार्यालय चौरजहारीले नगरपालिकालाई उक्त निर्माण भएको सडक हस्तान्तरण नगरेको उनले जानकारी दिए ।

टेन्डर आव्हान गरी सम्पन्न गरेकोले सडक डिभिजन कार्यालयसँग समन्वय गरी अगाडि बढने नगर प्रमुख घर्तीले जानकारी दिए । भर्खरै मात्र वर्खाको पानी र पहिरोले बनाएका खाल्डाहरु नगरपालिकाले पुरेको नगरपालिकाले जनाएको छ ।

‘नगरपालिकामा मुख्यमन्त्री रोजगारी कार्यक्रमको ३८ लाख रकम असार २२ गते मात्र प्राप्त भएको थियो । उक्त सडक मर्मत गर्ने भन्ने कुरा सामान्य चलेको थियो ।’ उनले भने, ‘हामीलाई हस्तान्तरण नभएकोले काम गर्न नमिल्ने भएपछि हामीले जोखिम लिन सकेनौँ । केही कार्यालयले काम नभई भुक्तानी दिएको हामीलाइ थाहा छ ।’ नगरपालिका स्वामित्वमा सडक हस्तान्तरण भए आउँदो मुख्यमन्त्री रोजगारको पैसा आएपछि मर्मतको लागि नगरपालिका तयार रहेको उनको भनाई थियो ।साभार:लाेकान्तर