☰ open Loading... 17 May 2024|  

प्रक्रिया मिचेर हतारहतार बनाइएको ७२ लाखको आइसोलेसन १ महिनामै चुहियो
  | ८ भाद्र २०७७, सोमबार १९:५०

 

 

दैलेख भदौ ८-दैलेखमा सार्वजनिक खरिद प्रक्रिया मिचेर हतारहतार ७२ लाख रुपैयाँको लागतमा बनाइएको आइसोलेसन भवन १ महिनामै चुहिएको छ।

दैलेखमा कोरोना भाइरस संक्रमण तीव्र हुँदा आइसोलेसन भवन निर्माण आवश्यक भएको बताउँदै प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले पूर्वाधार विकास कार्यक्रमको ५५ लाख रुपैयाँ बजेट नारायण नगरपालिकालाई दिएका थिए। पूर्वाधार विकास कार्यक्रम अन्तर्गत महावु गाउँपालिकामा निर्माण गर्ने भनिएको सडकबाट २५ लाख र नारायण नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणबाट ३० लाख रुपैयाँ कटौती गरेर आइसोलेसन भवन निर्माणमा खर्च गरिएको थियो ।




प्राप्त रकम नगरपालिकामार्फत भुक्तानी भइसकेको र बाँकी १७ लाख रुपैयाँ चालू आर्थिक वर्षको बजेटबाट भुक्तानी दिने शर्तमा भवन निर्माण गरिएको हो । जेसिका कन्स्ट्रक्सनका दैलेख प्रतिनिधि प्रकाशकुमार बुढाले भवनको निर्माणको जिम्मा लिएका थिए ।

आइसोलेसन भवन ‘प्रिफ्याब’ प्रविधिबाट बनेको छ । यसमा फलाम र आलमुनियम प्यानलहरू जोडेर भवन निर्माण गरिन्छ । भवन जिल्ला अस्पताल दैलेखबाट टाढाको दूरीमा नारायण नगरपालिका–८ तर्तांग नजिक निर्माण गरिएको छ । दैलेख अस्पतालमा भवन बनाउने जग्गा पर्याप्त भए पनि सांसद अम्मरबहादुर थापाकै चाहना अनुसार तर्तांगमा निर्माण गरिएको हो । आइसोलेसनमा चिकित्सकको निगरानी हुनुपर्ने भए पनि भवनलाई चिकित्सकभन्दा टाढा बनाइएको छ ।



भवन निर्माणबारे नगरपालिकालाई नै पर्याप्त जानकारी नदिइएको पाइएको छ । सार्वजनिक खरिद ऐन अनुसार बोलपत्र आह्वान गरी प्रक्रिया मिचेर भवन बनाउँदा गुणस्तरहीन भएको पाइएको छ । नारायण नगरपालिकाका इन्जिनीयर हिक्मत रोकायाले शुरूदेखि नै नगरपालिकाले भवनको हेर्ने जिम्मा नपाएको बताए । ‘काम आधा भइसकेपछि हामीले हेर्ने भन्ने कुरा थाहा भयो । ५५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ,’ उनले भने ।

निर्माण व्यवसायी प्रकाशकुमार बुढाले हतारमा काम गर्दा केही त्रुटि भएको स्वीकार गरे । ‘हामीले ३ हप्तामा त्यत्रो संरचना लकडाउनको अवधिमा बनायौं । रातदिन खटेर बनाउँदा पनि जस पाइँदो रहेनछ,’ उनले भने, ‘अहिले भवनमा बिरामी बसिरहेका कारण सुधार गर्न सकिँदैन, आइसोलेसन भवन खाली भइसकेपछि हामी सुधार गर्छौं ।’

आइसोलेसनमा बसेका कोरोना संक्रमितहरूले भवन चुहिँदा बस्न समस्या भएको गुनासो गरेका छन् । ‘हामीले भवनभित्र पनि सुरक्षित बस्नुपर्ने हो, चुहिने आइसोलेसन भएका कारण समस्या भइरहेको छ,’ एक संक्रमितले गुनासो गरे ।

काठमाडौं र पोखराबाट हतारहतार कामदार ल्याएर काम गरिएको बुढाले बताए । उनले आफूले ठेक्का नलिएको र कम्पनीले आफूलाई प्रतिनिधिको रुपमा मात्र खटाएको बताए ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले भवन निर्माण प्रक्रियामा केही कमजोरी भएको स्वीकारे। ‘बर्खायाम थियो, यहाँ अन्यत्र सामान पाइँदैन्थ्यो । प्रदेश संसद अम्मरबहादुर थापाले सामान भएको व्यक्तिलाई बोलाएर काम गर्न भन्नुभएको हो । तर हामीले भुक्तानी दिएका कारण जवाफदेही हामी नै हो,’ उनले भने, ‘कोरोना संकटको समयमा टेन्डर गर्न सकिएन । केही कमजोरी भए पनि हाम्रो नियत सफा छ ।’ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि आइसोलेसन स्थापना गर्ने निर्णय गरेको उनले बताए । लाेकान्तर बाट