☰ open Loading... 5 May 2024|  

गैरागाउँबासीकाे पीडा भन्छन, ‘न रातमा निन्द्रा लाग्छ, नत भोक नै’ !
  | १० भाद्र २०७७, बुधबार १४:१०

दैलेख । गैरागाउँ पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ मा पर्ने एक विकट ठाउँ हो । वारी–पारी अग्ला डाँडाकाँडा । पहाडको खोचमुनी भिरालो जमिन् । त्यही भिरालो जमिनमा अड्डीयर बनेको गैरागाउँ बस्ती । माटो र, ढुङ्गाबाट निर्माण गरी पत्थरले छाएको बस्ती । टाढै बाट हेर्दा सुन्दर र आकर्षक देखिएपछि पहिरोको जोखिम भने निकै नै ।

यही बस्तीमा भदौ २ गते आएको अविरल बर्षातले पा¥यो ठुलो बर्जपात । राती साढे ११ बजेतीरको समयमा ठुलो बर्षा सँगै खसेको पहिरोले स्थानीयका ७ घर बगायो । पहिरोमा परी दुई जना बालकले मृत्यु भयो ।

मृत्यु भएका १२ बर्षिय बालक जनक कठायतको स्थानीयबासीले शव निकाले भने उनी सँगै सुतेका ११ बर्षिय लोकेश कठायतको वेपत्ता लास तीनदिन पछि मात्र भेटियो । लोकेश काका नाता पर्ने भएकाले जनक कठायतको घरमा सुत्न गएका थिए । जनकको आफ्नै घरमा पुरिएर मृत्यु भएको हो भने लोकेश सुतेको घरबाट भागेर दौडिए ।

अर्कोतिरबाट पनि पहिरो आयो । दोस्रो घरको गोठमा लुके,गोठमै उनको प्राण गयो ।

भिरमौरीको बाटो । हामी पनि उद्धारमा जाँदा दुईतीरबाटै पहिरो आयो । समयमै जान सकेनौं । त्यतिवेला दुईओटै बालक पहिरोमा पुरी सकेका थिए,’ उक्त,वडा अध्यक्ष रमेशबहादुर सिजापतीले भने । पहिरोमा परी घाईते भएका ६ जना मध्ये तीन जनाको अवस्था गम्भिर भएपछि नेपाली सेनाको हेलिकप्टरबाट १७ घण्टा पछि मात्र उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको थियो ।

गम्भिर घाईते भएका टिकाराम कठायत, शम्शेर कठायत मृतक जनक कठायतका बुबा र दाई हुन् । आमा धनसरी कठायत र दिदी बेल कठायत सोही पहिरो परी सामान्य घाईते भएका थिए । यस्तै गम्मे नेपाली पनि पहिरोमै घाइते भए ।

पहिरोले टिकाराम कठायतका दुई घर बगाएको छ । तीनजना परिवार घाईते एकजना बालकको मृत्यु भएको छ । बल नेपाली, गम्म नेपाली, मनबहादुर विक, कर्ण कठायत, दानबहादुर कठायत,पैल कठायतको घर पहिरो बगाएको अध्यक्ष सिजापतीले अभियानलाई बताए ।

पहिरो टिकारामको घरभन्दा २ सय मिटर माथिबाट खसेको थियो । अहिले त्यो पहिरोका कारण २७ घर जोखिममा रहेका छन् । जसका कारण आजभोली स्थानीयलाई निन्द्रा र भोक लाग्न छाडेको छ ।

आकाशमा बादल लाग्ने वित्तिकै गैरागाउँबासी झस्किन्छन् । पीडित पैलबहादुर कठायत भन्छन– ‘‘खाना खान मन नै लाग्दैन । पानी परेर कतिखेर पहिरोमा परिने हो भन्ने डर–त्रासले पिरोल्छ, । दिन वित्दै जाँदा रात नपरिदियोस लाग्छ । बादल लाग्दा रात छिपिदै जाँदा जति सुत्न खोजे पनि निन्द्रा आउदैन । पहिरोकै डर लागिरहन्छ । कसरी निदाउने डरत्रासमै रात विताउनुपर्ने बाध्यतामा छौँ ।’’

पहिरोले घर बगाएर विस्थापित परिवार कोही खुल्लाचौरमा त्रिपालमुनी त कोही आफन्तको घरमा बसोबास गरिरहेका छन् । पहिरोले सबै चिजबस्तु बगाएपछि पिडित परिवारलाई छाक कसरी टार्ने चिन्ता उत्तिकै छ ।

एकातीर परिवारको सदस्य गुमाएको पीडा । अर्कोतीर बाँचेकालाई पनि कसरी पाल्ने हो भनेर चिन्ता लाग्न थालेको लोकेश कठायतका बाबु दानबहादुरले दुखेसो पोखे । घाईते टिकारामका जेठा छोरा ( मृत्यु भएका बालकका दाजु ) भुपेन्द्र कठायले सामाजिक सञ्जाल मार्फत सहयोग गरिदिन समेत आग्रह गरेका छन् । पहिरो गएको दिन भुपेन्द्र काम विशेषले घरभन्दा बाहीर थिए ।

पीडित परिवारले नजिकैको बाहकोट पसलबाट केही दिनको लागि दाल,चामलको व्यवस्था गरिएको वडाअध्यक्ष रमेश सिजापतीले बताए। त्यो ठाउँमा पुगेको कच्ची सडक पहिरो गयर ठाउँ–ठाउँमा बन्द छ । नजिकै रहेको बाहकोट खाद्यान्न छैन ।

वडा कार्यालयबाट गरिएको सहयोगले मात्र पुग्दैन्,’उनले भने । उनीहरुको लागि सबै कुराको व्यवस्थापनको लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । कसको के–कती क्षती भयो,’ विवरण संकलन हुँदैछ ,’अध्यक्ष शाहीले भने ।

विस्थापित परिवारहरुको राहतका लागि विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकायलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।