☰ open Loading... 26 April 2024|  

चार जनामा डेंगी
  | १६ आश्विन २०७७, शुक्रबार ०७:३८

 

 

 

सुर्खेत, असोज १६-कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डेंगी देखिएको छ। गत वर्षको तुलनामा यस वर्ष धेरै कमअर्थात् चारजनामा डेंगी देखिएको हो ।

गत वर्ष सुर्खेतमा एक सय ४५ जनामा डेंगी देखिएको थियो । गत वर्ष धेरैमा डेंगी देखिएपछि विभिन्न चेतनामूलक कार्यक्रम गरिएको थियो । त्यसको प्रभावले अहिले कमजनालाई डेंगी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । ‘अहिले थोरै मात्रामा देखिएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले भने, ‘डेंगी देखिएका चारैजनालाई निको भइसकेको छ ।’ एडसी एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगीको संक्रमण हुने चिकित्सकहरु बताउँछन् । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ ।





पछिल्लो समय पहाडी क्षेत्रको तापक्रम बढ्दै गएकाले उक्त क्षेत्रमा डेंगीको देखिँदै आएको छ । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वाग्लेले जनाए । ‘खास गरी वर्षाको पानी जम्ने टीनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी, गमला, पानीका ट्ंयाकी आदीमा यसले फूल पार्छ,’ उनले भने, ‘त्यसैले पानी जम्न दिनु हुँदैन र फोहोर गर्नु हुँदैन ।’

लक्षण

डेंगी ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षण पनि देखिन्छन् ।

१) असाध्यै टाउको दुख्ने

२) आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

३) ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

४) शरीरमा विमिरा आउने

५) वाकवाकी लाग्ने

६) पेट दुख्ने

७) नाक वा गिजाबाट रगत बग्ने

८) रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदी लक्षण पनि देखा पर्न सक्छ ।

बच्ने उपाय

१) डेंगी ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धी रोक्नु पर्छ

२) पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदीमा पानी जम्न नदिने

३) पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने

४) कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक÷दुई चम्चा मट्टितेल हाली दिने साथै जम्मा भएको पानी सफा गर्ने

५) फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्ने

६) यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ

७) सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ ।

८) लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ

९) घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ

१०) घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।