रमेश रावल
वीरेन्द्रनगर । कालीकोटमा बिहीबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकले आफ्नो ज्यान फालेर बिरामी र तीनजना कुरुवालाई जोगाएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-११ चौखोलाबाट बिरामी बोकेर आएको कर्णाली प्रदेश ०२००१च०१९२ नम्बरको एम्बुलेन्स खाँडाचक्र-८ को सेरावाडामा बिहीबार राति दुर्घटना भएको हो । दुर्घटनामा चालक ३३ वर्षीय खगेन्द्र शाहीको मृत्यु भएको छ । उनले एम्बुलेन्समा रहेका बिरामी र तीनजना कुरुवालाई भने जोगाएका छन् ।
स्थानीय बासिन्दाका अनुसार कर्णाली राजमार्गको सेरावाडामा साँघुरो मोडमा विपरीत दिशाबाट बस आएपछि एम्बुलेन्स सडकको किनार पुगेको थियो । अगाडि आउन नसकिने र पछाडि लग्न पनि नसकिने भएपछि चालक शाहीले बिरामी र कुरुवालाई ओर्लिन लगाएको स्थानीय वीरबहादुर मल्लले बताए । ‘साँघुरो मोडमा अगाडिबाट बस आएपछि एम्बुलेन्स लिकबाट बाहिर गएछ । ब्रेक लगाएर बिरामी र कुरुवालाई ओर्लिन लगाएछन्,’ मल्लले भने, ‘बिरामी र कुरुवा ओर्लिएपछि एम्बुलेन्स ब्याक गर्न खोज्दा खसेछ । उनी आफू गएर अरू चारजनाको ज्यान जोगाए ।’
जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार एम्बुलेन्स सडकबाट तीन सय मिटर तल तिला नदीमा खसेको छ । दुर्घटनामा एम्बुलेन्स पूर्णरूपमा क्षति भएको छ । उनले बिहीबार खाँडाचक्र नगरपालिका-९ की ४३ वर्षीया धर्मकला विष्टलाई जिल्ला अस्पताल ल्याउन लागेका थिए । दमबाट पीडित विष्टको एकाएक पेट दुखेपछि एम्बुलेन्समा अस्पताल लग्न लागिएको स्थानीय बासिन्दाले बताए । दुर्घटनामा परेको एम्बुलेन्स पृथ्वी रक्तदान वीर फाउन्डेसनको हो । खाँडाचक्र-४ ताडीका शाही एक वर्षदेखि यो एम्बुलेन्स चलाउँदै आएका थिए । नयाँ पत्रिकाबाट साभार ।