☰ open Loading... 16 November 2024|  

फक्रिँदै गरेको लोकतन्त्र माथि प्रहार
  | ११ मंसिर २०७७, बिहीबार २०:२७


कर्णाली । राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाका लागि नेपाली जनता एकसाथ सडकमा उर्लिए । जनताका अगाडि राजतन्त्रले घुँडा पनि टेक्यो । राजतन्त्र अस्तायसँगै गणतन्त्रको उदय भयो । मुलुकमा प्रतिनिधिसभाको चुनाव भयो । संविधान बन्यो । संविधानअनुसार मुकुललाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारमा विभाजन गरियो ।

जनताको बलबाट आएको गणतन्त्रको स्थायित्व नहुँदै ‘राजा आऊ, देश बचाऊ’ नारा कहिले कसो सुनिन्छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा त -यालीसमेत भयो । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल (हाल दाङको भालुवाङलाई स्थायी राजधानी कायम गरिएको छ ।) मा पनि उस्तै गरी राजावादीहरूले -याली निकाले । बाँकेमा -याली गर्ने गरी तयारी भइरहेको छ । लोकतन्त्रका लागि ठूलो भूमिका खेलेका र जनताले विश्वास गरेका नेताहरूबाट बेलाबेला धोका हुँदा ‘राजा आऊ, देश बचाऊ’ जस्ता स्वर छताछुल्ल हुन थालेका छन् । लोकतन्त्र र यसका लागि योगदान दिनेका लागि यो कदापि सही होइन ।

गण्डकी, लुम्बिनीजस्तै कर्णालीमा पनि ‘राजा आऊ, देश बचाऊ’ जस्ता स्वर देखिन र सुनिन थालेका छन् । कर्णालीमा भने नयाँ शैलीबाट स्वर आएको छ । जो हो ‘भित्ते लेखन’ । तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला भित्ते खेलन बढी प्रयोग गरेको थियो । उस्तै गरी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका भित्तामा राजतन्त्रका नारा देखिन थालेका छन् । वीरेन्द्रनगर बजारका घरघरमा यस्ता नारा लेखिएका छन् । यो कसले र किन लेख्यो ? खुलेको छैन । तर यो अनुसन्धानको विषय बनेको छ । करिब अढाइ महिना दिनअघि लेखिएका यी नाराका विषयमा प्रदेश सरकारले ध्यान दिएको छैन । प्रदेश राजधानीमै यस्ता नारा देखिनु लोकतन्त्रका लागि सुखद खबर होइन । यी नारा रातिको समयमा लेखिएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

भित्तामा लेखिएका नारा सामान्य मान्ने वा गम्भीररूपमा लिने, सोचाइमा फरक पर्ला । तर यसले लोकतन्त्रप्रति जनताको वितृष्णासँगै अविश्वास पैदा गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यो भनेको गणतन्त्रका लागि ठूलो घातक बन्न सक्छ । प्रदेश राजधानीजस्तो ठाउँमा खुला स्थानमै लेखिएका यस्ता नारा सरकारले नदेख्न्नु पनि कम्ता हांस्यास्पद छैन ।

राजतन्त्रवादीले लेखेको भन्ने शंका पैदा भए पनि त्यसको पुष्टि भएको छैन । नारा मात्र लेखिएको छ यो वा त्यो केही लेखिएको छैन । लोकतन्त्रका लागि हजारौंले बलिदानी दिएको लामो समय नहुँदै पुनः यस्ता नारा देखिनु कुनै पनि हालतमा सही मान्न सकिन्न । जसले यस्ता नारा लेखे पनि राजाको शासन चाहनेले लेखिएकोमा दुई मत छैन । जसले राजतन्त्र अन्त्यका लागि १० वर्ष सशस्त्र युद्ध चलायो उसकै नेतृत्व गरेको प्रदेशमा यस्ता नारा देखिनु लोकतन्त्रलाई चुनौती दिनेखालका नारा देखे पनि नदेखे झै गरेर हिँड्नु पनि कम्ता लज्जास्पद होइन ।
हिंसारहित स्वतन्त्रतापूर्वक राजनीति गर्ने अधिकार जो कोहीसँग छ, तर फक्रिँदै गरेको लोकतन्त्रलाई समाप्त पार्नेखालका गतिविधि नेपाली जनताका लागि सह्य हुँदैन । राजनीतिक नेतृत्व यसप्रति बेखबर भए पनि जनता तहबाट यस्ता गतिविधिप्रति निगरानी बढाउन आवश्यक छ । जसले गर्दा फक्रिँदै गरेको लोकतन्त्र सुन्दर फूल झै फुल्ने छ । त्यसको बासना नेपाली जनताले लिने छन् ।