☰ open Loading... 17 May 2024|  

प्रहरीमाथी अभद्र व्यवहार गर्नेलाई कारबाही गर्दै
  | २१ मंसिर २०७७, आईतवार २०:५५

प्रहरीमाथी हातपात तथा अभद्र व्यवहार गर्नेलाई शुन्य सहनशिलतामा कारबाही गर्ने गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरीमाथी हुने अभद्र व्यवहारका अपराध बढ्न थालेपछि शुन्यसहनशिलतामा कारबाही गरेको हो ।
प्रहरीले नागरिकसँगको सम्बन्धलाई सुदृढ गर्न विभिन्न कार्यक्रमहरु आयोजना गरी समुदायिक प्रहरी परिचालन गर्दासमेत प्रहरीमाथी अभद्र व्यवहारका अपराध बढ्न थालेपछि यसको न्युनीकरण गर्न शुन्य सहनशिलताको अवधारणा लागु गरिएको जनाइएको छ ।

प्रहरीलाई अश्लिल गाली गलौज गर्ने, हातपात गर्ने, कामकारबाहीमा अवरोध पु¥याई सान्ती सुरक्षा विरुद्वको कसुर गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

उनका अनुसार चालुआर्थिक वर्षको साउन महिनादेखि मंगलबारसम्म ३३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ । जसमध्ये तीन जना महिला र ३० जना पुरुष रहेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ११८ बमोजिम ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।’ यस्ता क्रियाकलाप गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
सोही बमोजिम जिप्रका सुर्खेतले पनि शुन्य सहनशिलतामा कारबाही थालेको हो ।