☰ open Loading... 25 November 2024|  

४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या
  | ८ पुष २०७७, बुधबार १०:२१

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो ।

नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिवेदन बनाई नगरकार्यपालिकाद्वारा स्वीकृत गराउनुपर्दछ भने सोको जानकारी जिल्ला समन्वय समिति (जिसस)मा बुझाएरमात्र नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने प्रावधान रहेको छ । तर, वीरेन्द्रनगर नगरपालिकाले जिल्ला समन्वय समिति सुर्खेतमा कुनै जानकारी नपठाएको जिसस स्रोतले जनाएको छ । यद्यपी नगरपालिका कार्यालय र जिसस कार्यालय एउटै परिसरमा रहेका छन् भने दुरीका हिसावले तल्लो र माथिल्लो तलामा कार्यालय रहेका छन् ।

आइइ प्रतिवेदन अनुसार नगरपालिकाले चालु आर्थिक वर्षका लागि ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन् तथा निकासी गर्न पाउने अनुमति पाएको छ । सोही बमोजिम नगरपालिकाले अमानतमा (नगरपालिकाले आफै राजश्व संकलन गर्नेगरी) असोज एक गतेदेखि नै नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको हो । यद्यपी नगरपालिकाले आइइ प्रतिवेदन अनुसारको ६० हजार ४६ घनमिटरबाट अमानतमा निकासी गरेको परिमाण नघटाई मिति २०७७ कार्तिक १४ गते टेण्डर आह्वान गरेको छ भने उक्त टेण्डर छनौट भै स्वीकृत हुन बाँकी रहेको नगरपालिकाले स्रोतले जनाएको छ ।

नदीजन्य पदार्थ निकासीका लागि सुम्बाकुना नाकाबाट विल नम्बर १०१ देखि बिल काट्न सुरु गरिएको सोही स्थानमा नगरपालिकाद्वारा बिल काट्न खटिएका कर्मचारी नारायण सुवेदीले जानकारी दिए । सुम्बाकुना नाकाबाटमात्रै मंगलबार अपरान्हसम्ममा १६ हजार ५१ नम्बरको बिल काटिएको छ । सोही विल नम्बरलाई आधारमानी ट्रिप्परले निकासी गरेको परिमाण नभै ट्याक्टरले निकासी गरेको परिमाण मात्र जोड्दा ४७ हजार आठ सय ५३ घनमिटर ढुंगा, गिटी, बालुवा निकासी भैसकेको छ भने सोही परिमाण अनुसार प्रति ट्याक्टर तीन सयका दरले ४५ लाख २७ हजार तीन सय रुपैयाँ नगरपालिकाको राजश्व उठेको देखिन्छ । यद्यपी नगरपालिकाले आह्वान गरेको टेण्डरको राजश्व उठाउने लक्ष्य न्युनतम् ४२ लाख ३७ हजारमात्र रहेको छ । सोही आधारमा नगरपालिकाको नदीजन्य पदार्थबाट उठ्ने राजश्व वापतको रकम दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा भएको बुझिन्छ ।

नगरपालिकाको आइइ प्रतिवेदन र अमानतमा निकासी भएको परिमाण नघटाई टेण्डर आह्वान गरिएपनि राजश्व उठ्नुपर्ने लक्ष्यभन्दा बढी रकम उठिसकेको छ भने जम्मा १२ हजार एक सय ९३ घनमिटरमात्र परिमाण निकासी गर्न बाँकी छ । यद्यपी बिल काट्न खटिएका कर्मचारीको भनाइलाई आधारमान्ने हो भने प्रत्येक दिन दुई सय ट्याक्टरले नदीजन्य पदार्थ निकासी गर्दै आएका छन् । सोही आधारमा अबको ६० दिनभित्रमा आइइ प्रतिवेदन अनुसारको परिमाणमा नदीजन्य पदार्थ निकासी भैसक्ने देखिन्छ ।

वीरेन्द्रनगर नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता भएको मितिदेखि २०७८ जेठमसान्तसम्म ठेक्का अवधि कायम हुने जनाएको छ तर उक्त टेण्डर सूचनाको शर्त नम्बर २६ मा ‘निर्धारित अवधि अगावै तोकिएको परिणाम निकासी भएमा ठेक्का सम्झौता स्वतः समाप्त भएको मानिनेछ ।’ भनि उल्लेख गरिएको छ । सोही शर्तबमोजिम टेण्डर आह्वान भएपनि बाँकी ६० दिनभित्र तोकिएको परिमाण निकासी भैसक्ने देखिन्छ ।

यता, नगरपालिकामा मंसिर २२ गतेनै कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन् भयो र सोबमोजिम कति रकम राजश्व संकलन भएको हो भनी सूचना माग गरेपनि हालसम्म उक्त सूचनाको प्रमाणित प्रतिलिपी उपलब्ध हुनसकेको छैन । यद्यपी नगरपालिकाका सूचना अधिकारीले वडामार्फत जानकारी नआएकोले हिसाव निकाल्न समय लागेको बताएका छन् ।