वीरेन्द्रनगर-कर्णालीको मुख्यनाका सुब्बाकुनामा शनिबार गाडीभित्र घास राखिएको अवस्थामा सरकारी गाडी प्रहरीले नियन्त्रणमा लियो। त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गतको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको थियो। त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डिचौर थिए। गाडी अध्यक्षका छोरालाई नेपालगन्ज विमानस्थल पुर्याउन फर्किंदा बाटोबाट घाँस गाडीमा हालिएको थियो। छुट्टै घाँस बोक्न प्रयोग नगरिए पनि जनप्रतिनिधिको गाडीमा घाँस राख्नु अस्वभाविक थियो।
यति मात्र होइन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्रीहरू आर्थिक वर्ष सकिएपछि अनुगमनको नाममा कोरोनाको बीचमा हुलहुज्जत गर्दै कर्णालीको विकट बस्तीमा नभइ रमणीय ठाउँमा पुगे। त्यहाँ कुनै महत्वपूर्ण काम नभइ घुम्ने प्रमुुख उद्देश्य थियो। उनीहरु भदौ २६ गते कालीकोट हुँदै, जुम्ला, मुगु रारा, हुम्ला, बाजुराका रमणीय ठाउँमा घुमे। राज्यको तर्फबाट रमाइलो गर्न हिँडेका उनीहरुको चर्काे आलोचनासमेत भयो। यति मात्र होइन राज्यको साधन र स्रोत दुरुपयोग हुँदा जनप्रतिनिधिसँग नागरिक निरासमात्र होइन उनीहरूप्रति वितृष्णा पैदा भएको छ। सामान्य अपेक्षा राखेका जनताले आफ्नो अपेक्षा पूरा गर्नुको साटो जनप्रतिनिधि व्यक्तिगत धनदौलत र सुखसयलमा बढी केन्द्रित हुन थालेपछि जनप्रतिनिधिसँग जनताको वितृष्णा बढ्न थालेको हो।
जनप्रतिनिधिले दैनिक राज्यको सम्पत्ती दुरुपयोग गरेर मोजमस्तीमा रमाउला भन्ने कसैको थिएन। जनताका सामान्य आधारभूत आवश्यकता परिपूर्तिसमेत पूरा गर्न नसकेको आरोप लागेका जनप्रतिनिधिहरू बेलाबेलामा आउने विवादले जनताप्रतिको विश्वास झन घट्दै गएको छ। जसले जनप्रतिनिधिलाई स्याब्बासी होइन आलोचित बनाउन थालेको स्थानीय बताउँछन्। कतिपय कानुनले दण्डसजाय मानेका कुरा पनि जनप्रतिनिधि मुछिएका छन्। जसको उदाहरण सल्यान बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय इन्द्र कुमाई। उनले बिहे गरेपछि स्थानीय बासिन्दाले घरमा थुनेर राखेका थिए। तेस्रो बिहे गरेको भन्दै स्थानीय बासिन्दाले प्रहरीमा जानकारी दिएपछि पक्राउ गर्न गएको प्रहरी टोली गाउँमा नपुग्दै उनी पत्नीसहित भागेका थिए।
वडाध्यक्ष कुमाईले यसअघि दुईवटा बिहे गरेका छन्। जनप्रतिनिधिनै बहुविवाहमा संलग्न भएपछि सर्वसाधारणले उनीबाट वितृष्णबाहेक अरुको महसुस गर्न पाएनन्। यति मात्र होइन जनप्रतिनिधिका अत्यन्तै नजिकका मान्छे अख्तियार दुरुपयोग अनुसन्धानको दायरामा पर्नु, चरम अनियमितता भएको भन्दै उजुरीको चाङ लाग्नुले पनि जनप्रतिनिधिहरूप्रति स्थानीय सन्तुष्टि छैनन्।
व्यक्तिगत काममा पनि राज्यको सम्पत्ती र जनशक्ति प्रयोग गर्नु, जनप्रतिनिधिलाई भ्रष्टाचारको आरोप लाग्नु, जनप्रतिनिधि सुविधा भोगी हुनु, जनताका सामान्य मागसमेत पूरा नहुनु, कतिपय घटनामा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा जोडिनुलगायतले पनि जनप्रतिनिधिलाई हेर्ने जनताको नजर बदलिएको छ। पछिल्लो समय जनप्रतिनिधिप्रति जनताको वितृष्णा बढ्दै गएको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जनाए। उनका अनुसार जनप्रतिनिधिहरूमा एकाधिकारवादी सोच हुनु, जनमतको अभिमूल्यन हुनु, दायित्वप्रति गैरजिम्मेवार हुनु, पूणर्संरचनाको अवस्था हुनु, सार्वजनिक हितविपरीत जनप्रतिनिधिले काम गर्नु, अस्वभाविक स्तरोन्नति हुनु, अख्तियारको दुरुपयोग गर्नु, कार्य कुशलताको अभाव, प्रशासनिक कुशलता नहुनु, संघीयता हुने कामका विषयमा तत्लो तहसम्म जनताको बुझाइ फरक पर्नु र सामूहिक भावनाको अभाव हुँदा जनप्रतिनिधिप्रति वितृष्णा बढ्दै गएको हो।
पहिला जनप्रतिनिधि थोरै हुने र सबै उनीहरूको पहुँचमा नहुँदा जनप्रतिनिधि आलोचनाबाट बच्ने गरेको नागरिक समाजका खिम रेग्मीले बताए। ‘पहिला जनप्रतितिधि कम हुँदा सबै उनीहरूको पहुँचमा हुँदैनथ्ये,’ उनले भने, ‘त्यसैले उनीहरूको जिम्मेवारीका विषयमा पनि ग्रामीण क्षेत्रका बासिन्दा अनविज्ञ थिए।’ जसले गर्दा उनीहरूको आलोचना धेरै नभएको उनले बताए। ‘अहिले त समकक्षी नै जनप्रतिनिधि छन् । गाउँगाउँमा जनप्रतिनिधि छन्। जनता जनप्रतिनिधिका पहुँचमा छन्,’ उनी भन्छन्, ‘जनप्रतिनिधिको जिम्मेवारीका विषयमा तत्लोतहका मान्छेलाई पनि ज्ञान छ। जसले गर्दा पनि अहिले जनप्रतिनिधिप्रति वितृष्णा पैदा गरेको छ ।’ ‘पहिला चप्पल पट्काएर हिँड्ने व्यक्ति जनप्रतिनिधि भएपछि गाडीमा सवार गर्ने, खानपिनदेखि अन्य जीवनशैली परिवर्तन हुँदा जनता निरास छन्। कामै थोरै काम तर थेरै शक्ति र राज्य कोषका दुरुपयोग हुँदा जनताले जनप्रतिनिधिप्रति अविश्वास पैदा गरेका हुन्।
अर्काे कुरा बेलाबेला हुने राजनीतिका घटना क्रमले पनि जनतामा त्यस्तोखालको मानसिकता पैदा गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निदाएझै गर्नु, सत्तापक्ष नेकपा माओवादीमा पदीय लोभलालचले पार्टी विभाजनसम्मको स्थितिमा पुग्नुले पनि वितृष्णा बढाउन अझ बढी बल पुर्याएको स्थानीयको भनाइ छ। जसको फलस्वरुप अहिले पार्टीले गर्ने सभा सम्मेलनमा जनताको उपस्थिति कम हुँदै गएको छ। पहिला जस्तो सभा सम्मेलनमा जनताको उपस्थिति नहुँदा सांस्कृतिक कार्यक्रमसमेत समावेश हुने गरेका छन्। उक्त कार्यक्रममा जनताको उपस्थिति बढाउन कलाकारको प्रस्तुति अनिवार्य जस्तो बनाइएका हुन्छन्।
‘जनप्रतिनिधिसँग जनताका ठूला अपेक्षा थिएनन्,’ उनले भने, ‘कर्मचारी तन्त्रका बेलाभन्दा केही सहज ढंगले काम र सामान्य दैनिक जीवनयापनमा सहज हुनेखालका विकासे योजना आसा सर्वसाधारणहरुमा थियो।’ ‘हामीले जनप्रतिनिधि सुविधा भोगीभन्दा विकास केन्द्रित खोजेका हौँ,’ सुर्खेतस्थित देवीसरा विकेले भनिन्, ‘तर यहाँ जनताका समस्या समाधान भए भएनन् त्योभन्दा पनि आफ्नो सुविधाभन्दा बढी राज्यको स्रोत साधन दुरुपयोग गर्ने गरेका छन्।’नागरिक दैनिक बाट
| ८ पुष २०७७, बुधबार २०:४६