प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोजिनु पर्ने व्यवस्था हुँदाहुँदै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले पत्रकारसँग स्पष्टिकरण सोधिनु निन्दनीय भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रमेश विष्टले निकालेको विज्ञप्ति पत्रकारसँग स्पष्टिकरण लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस अघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले पनि विज्ञप्ति निकालेर विरोध जनाएको थियो ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यस उपर कानुनी उपचारको बाटो खोजिनु पर्नेमा जिल्लाका जिम्मेवार अधिकारीबाट पत्रकारलाई यस किसिमले स्पष्टिकरण सोधिनु आफैँमा हांस्यास्पद र निन्दनीय भएको महासंघको विज्ञप्तिमा उल्लेख छ । महासंघ पत्रकारले संवैधानिक अधिकारको सम्मान गर्न र यस किसिमका कार्य नदोहोर्याउन सम्बन्धित अधिकारीको ध्यानाकर्षणसमेत गराएको छ । यता नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा र पत्रकारका अन्य पेसागत संघसंगठनले भने यस घटनामा धारणा सार्वजनिक गरेका छैनन् । पत्रकारसँग समाचारकै विषयमा सिडिओले स्पष्टिकरण माग्दा रुकुम पश्चिम शाखा र पत्रकारका अन्य पेसागत संगठन चुपचाप बस्नु दुःखद् भएको पत्रकारहरूको भनाइ छ ।
रुकुम पश्चिमका सिडिओ गैह्रैले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका थिए । उक्त समितिले नागरिक दैनिकका पत्रकार गणेश विशु र पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसीसँग स्पष्टिकरण मागेका थिए । पत्रकारहरूले भने स्पष्टिकरण दिएका छैनन् । रिपब्लिक मिडिया प्रालिको अनलाइन संस्करण नागरिक न्यूज डट कममा कात्तिक २४ गते ‘नागरिकता लिन दिनभरि कुनुपर्छ’ र नागरिक दैनिक पत्रिकामा कात्तिक २८ गते (शुक्रबार) ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार पश्चिम नेपाल डट कममा समेत प्रकाशित भएको थियो । उक्त प्रकाशित समाचारका विषयमा पत्रकारसँग स्पष्टिकरण माग्न सिडिओले छानबिन समिति बनाएका थिए ।