☰ open Loading... 24 November 2024|  

धान उत्पादन बढ्यो , उत्पादकत्व हालसम्मकै उच्च
  | १४ पुष २०७७, मंगलवार १०:३८

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो ।
कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १४ लाख ५५९ हेक्टरमा खेती भएकोमा यसपटक वृद्धि भई १४ लाख ७३ हजार ४७४ हेक्टर पुगेको हो । यसरी क्षेत्रफलमा वृद्धि भएका कारण धान उत्पादनमा पनि वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
विगत पाँच वर्षको धान उत्पादन विश्लेषण गर्दा आर्थिक वर्ष २०७३/७४ को तुलनामा यो उत्पादन करिब ७.४८ प्रतिशतले बढी अर्थात् तीन लाख ९१ हजार मेट्रिक टनले बढी भएको मन्त्रालयले जनाएको छ । २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५, २०७५/०७६ मा ५६ लाख १० हजार ११, र २०७६/७७ मा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रदेशमा उत्पादन
मन्त्रालयले सातवटै प्रदेशमा दुई आर्थिक वर्षमा उत्पादन भएको तथ्याङ्क पनि उपलब्ध गराएको छ । त्यसमा सबैभन्दा बढी उत्पादन प्रदेश २ मा भएको छ । प्रदेश दुई मा तीन लाख ८२ हजार २७५ हेक्टरमा खेती भएको थियो । जसमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।
प्रदेश १ को तीन लाख ३० हजार ४३८ हेक्टरमा १२ लाख ७५ हजार ५५४, बागमती प्रदेशको एक लाख ३२ हजार ८१३ हेक्टरमा पाँच लाख नौ हजार ५९०, गण्डकी प्रदेशको एक लाख छ हजार ५४१ हेक्टरमा तीन लाख ९७ हजार ९४, लुम्बिनी प्रदेशको तीन लाख सात हजार १४९ हेक्टरमा १२ लाख २४ हजार ४९७, कर्णाली प्रदेशको ३९ हजार ४१ हेक्टरमा एक लाख ३७ हजार १६५ र सुदूरपश्चिम प्रदेशको एक लाख ७५ हजार २१८ हेक्टरमा छ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उत्पादन वृद्धिको कारण
चालू आर्थिक वर्षमा जेठ ३० गतेदेखि नै सक्रिय मनसुन सुरु भएको थियो भने गत आर्थिक वर्षमा असार ५ बाट मनसुन सुरु भएको थियो । गत वर्षको तुलनामा यसपालि ३१ प्रतिशतभन्दा बढीले वर्षा भएको मन्त्रालयले जनाएको छ । यसपटक समयमा रोपाइँ सम्पन्न भएको थियो । त्यसका साथै बन्दाबन्दीका कारण क्षेत्रफलमा वृद्धिका कारण कामदारको उपलब्धताले धान उत्पादनको कारण बनेको मन्त्रालयले जनाएको छ ।
प्रदेशगत कृषि कार्यालयहरूबाट समयमा बीउबिजन, मल, औजारको उपलब्धताले गर्दा पनि धान उत्पादनमा वृद्धि भएको मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिनुभयो । गत सालको तुलनामा धानको ९५ प्रतिशत उन्नत बीउ पनि किसानले प्रयोग गरेका कारणले नतिजा परिणामुखी आएको उहाँले बताउनुभयो ।
धानबालीको सिजनमा गत सालभन्दा न्यून युरिया आपूर्ति हुँदा पनि तराई–मधेसका किसानले सीमापारिबाट अनौपचारिक रूपमा रासायनिक मल ल्याएर असहजता पूर्ति गरेको कृषि मन्त्रालयले जनाएको छ ।

प्रक्षेपण पूरा भएन
रोपाइँको समयमा यस वर्ष अहिले अनुमान गरिएभन्दा बढी धान फल्ने प्रक्षेपण गरिएको थियो तर दोस्रो टप ड्रेसिङमा युरिया मलको अभाव रहेकाले प्रक्षेपित मात्रामा धान उत्पादन हुन नसकेको मन्त्रालयले स्वीकार गरेको छ । यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य मन्त्रालयले लिएको थियो ।गोखापत्र अनलाईनबाट