सुर्खेत । काँक्रेविहार क्षेत्रमा रहेका जनावर असुरक्षित बन्दै गएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा पर्ने नेपालकै संरक्षित वन क्षेत्रको रुपमा रहेको काँक्रेविहारका जनावरहरु असुरक्षित बन्दै गएका हुन् ।
काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाको लागि अस्थायी प्रहरी विट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भएपनि यहाँका जनावर असुरक्षित भएका हुन् । सोही अनुरुप आज विहानै एउटा जरायो घाइते भएर भाग्दै गरेको बुलबुलेमा भेटिएको छ । जरायोको टाउँकोमा गम्भीर चोट लागेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार घाइते जरायोको उद्दारका लागि डिभिजन वन कार्यालयमा ल्याएको छ । ‘जरायो घाइते अवस्थामा भेटिएको हो’ कार्यालय प्रमुख गोविन्द प्रसाद दाहालले भने, ‘अहिले कार्यालयमा ल्याएर जरायोको उपचार भैरहेको छ ।’
केही समय अगाडी पनि काँक्रेविहार क्षेत्रकै जरायो गोली लागेको अवस्थामा घाइते भेटिएको थियो ।
विभिन्न समयमा जनावरकाे चाेरी सिकारी हुने गरेपनि संरक्षण गर्ने निकाय डिभिजन वन कार्यालयले चाँसाे नदेखाउने यस्ता घटना हुने गरेकाे स्थानीयकाे गुनासाे छ ।
‘वीरेन्द्रनगरकाे मुटुमै रहेकाे संरक्षित क्षेत्रका जनावर नै असुरक्षित छन’ स्थानीयले भने, ‘वन कार्यालयले यसकाे संरक्षणमा कुनै चाँसाे देखाएकाे छैन ।’