☰ open Loading... 2 May 2024|  

सुनकाण्ड :प्रहरीको सुस्त अनुुसन्धान
  | २१ माघ २०७७, बुधबार ०७:२६

सुर्खेत । ठूलो परिणाममा बरामद गरिएको सुन काण्डको विषयमा अनुसन्धान सुस्त र फितलो भएको छ । प्रहरीले अनुसन्धानलाई सुस्त र फितलो बनाउँदा दोषी उम्किएको स्थानीयको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिका–३ मूलपानीबाट साउन २८ गते प्रहरीले लुकाइछिपाइ राखेको ठूलो परिणाममा सुन जस्तो देखिने धातु बरामद गरेको थियो । उक्त विषयमा अनुसन्धानका लागि भन्दै प्रहरीले २२ वर्षीय हिक्मत सुनारलाई समेत पक्राउ गरेको थियो । उनलाई करिब २२ दिनपछि थुनामुक्त गरेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले अनुसन्धानलाई सुक्ष्म ढंगले नहेरेको कतिपय स्थानीयको आरोप छ । यता प्रहरीले भने आफूहरु विभिन्न जिल्लासम्म पुगेर अनुसन्धान गरेको प्रतिक्रिया दिएको छ । बरामद गरिएको सुनको तौल र धातु परीक्षणसमेत प्रहरीले गराएको छैन । ‘सुनजस्तो देखिने धातु बरामद भएको थियो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले भने, ‘उक्त विषय अनुसन्धानकै क्रममा छ ।’ कतिपय प्राविधिक समस्याले गर्दा पनि कानुनी दायरामा जान समस्या भएको उनको भनाइ छ । अनुसन्धान सुस्त र फितलो नभएको भन्दै उनले भने, ‘अनुसन्धान जारी छ ।’ अहिले बरामद गरिएको सुन जस्तो देखिने धातु जनप्रतिनिधिको रोहबरमा लाहाछाप लगाएर सुरक्षित राखिएको उनले जनाए ।

सुनजस्तो देखिएको धातु सुन हो की होइन भन्ने विषयसमेत प्रहरीले एकीन गर्न सकेको छैन । ‘प्रहरीले बरामद गर्यो त्यो राम्रो हो,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘तर यति ठूलो विषयमा अनुसन्धान फितलो हुँदा प्रहरीको मिलमतो भएको भन्ने शंका पैदा भएको छ ।’ प्रहरीले भने केही विषयहरु अनुसन्धान लामो हुने हुँदा पनि टुंगो नलागेको बताएको छ । ‘यो विषयमा अनुसन्धान जारी छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले भने, ‘केही विषयमा लामो अनुसन्धान हुन्छ ।’ सुन काण्डका शंकास्पद व्यक्ति फरार भएकाले पनि अनुसन्धान केही लम्बिएको उनको भनाइ छ ।

उक्त सुन भारतबाट चोरेर ल्याएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यससँग सम्बन्धित केही व्यक्ति भारतमा समेत पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले कडावाला सुन एक थान, कडा एक थान (कर्नरमा गुलाबी र बीचमा पथ्थर भएको), चुरा १२ थान, चुरा तीन (पथ्थर भएको), काने झुम्का पाँच थान बरामद गरेको थियो । त्यस्तै श्रीफूल चार थान, काटा एक र क्लिप एक थान (चन्द्रमा आकारको) बरामद भएको प्रवक्ता घर्तीले जनाए ।