☰ open Loading... 18 November 2024|  

भूमिहीन परिवारलाई जग्गा दिलाउने प्रतिवद्धता
  | २२ माघ २०७७, बिहीबार ०७:२७

दैलेख -नारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले नगर क्षेत्रका भूमिहीन परिवारलाई एक पटकका लागि जग्गा दिलाउने आफू प्रतिवद्धता रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज दैलेखमा आयोजना गरेको आवास अधिकार सम्वन्धी अन्तरक्रियामा सो कुरा भनेका हुन् ।
इन्सेकको इएलपी कार्यक्रमको मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको अन्तरक्रियामा नारायण नगरपालिकाका वडा नं. १ र ७ लगायतमा आफैले उपभोग गरिरहेको जग्गाको पूर्जा नपाएका रातामाटे, नमूना बस्ती र किमगाउँका स्थानीय आफ्ना समस्या उठाएका थिए ।
पत्रकार यज्ञराज थापाले राजनीतिक दलहरुले चुनावको बेला रातामाटे र नमूनाबस्तीमा जग्गाधनी पूर्जा दिलाउने प्रतिवद्धता जनाए पनि सत्ता पाएपछि आफूहरुका समस्या सुल्झाउन परिमाणमुखी काम नगरेको टिप्पणी गरे ।
त्यसबखत भूमिहीन तथा सुकुम्वासी समाधान आयोग गठन भएकोले समस्या समाधान हुनेमा आशावादी हुन पत्रकार हिक्मत नेपालीले स्थानीयहरुलाई आश्वस्त पारेका थिए । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले समयमा समाधान नहुँदा भूमिहीनहरुको संख्या बढ्दै गरेको बताए ।अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले नारायण नगरपालिकाका वडा नं. १ को रातामाटे, नमूनावस्ती र ७ पानतोला क्षेत्रमा भूमि उपभोग गरेकाहरुले जग्गाधनी पूर्जा उपलब्ध गराउन भूमिहीन तथा सुकुम्वासी समाधान आयोगका दैलेखका पदाधिकारीहरुले कार्यभार थालनी गरेपछि डेलिगेसन जाने निर्णय गरेको छ ।