☰ open Loading... 18 November 2024|  

सुर्खेतमा ओली पक्षको मोटरसाइकल र्‍याली
  | २२ माघ २०७७, बिहीबार १६:१७

वीरेन्द्रनगर — सुर्खेतमा आम हड्तालको प्रतिकार गर्दै नेकपा ओली पक्षधर भातृ संगठन अनेरास्ववियुले मोटरसाइकल जुलुस निकालेको छ।दाहाल–नेपाल पक्षले बिहीबार हड्ताल गरिरहेको बेला अनेरास्ववियु सुर्खेतले बन्द नभएको भन्दै र्‍याली निकालेर बजार परिक्रमा गरेको अध्यक्ष धुपेन्द्र शाहीले जानकारी दिए ।

 

युवाहरुले ‘बन्द गर्न पाईँदैन’,‘विद्यार्थीलाई पढ्न देऊ’, ‘व्यापारीलाई व्यापार गर्न देऊ’लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका हुन् ।

यसैबीच, हड्तालमा उत्रिएका दाहाल–नेपाल समूहका युवाहरुले सुर्खेतमा स्थानीयलाई कुटपिट गरेका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको भनेतापनि युवा समूह भने उग्र बन्दै गएका हुन् । आन्दोलनमा सहभागीले बिहान मोटरसाइकल चलाइरहेका मानिसलाई तानेर कुटपिट गरेका छन् । बुलबुले गेटनजिकै युवाले पूर्वतिरबाट मोटरसाइकल चलाएर आएका युवालाई कुटपिट गरेका हुन् । दैलेखको भैरवी गाउँपालिका–१ का जोरासिंह विष्टलाई युवाहरुले मोटरसाइकलबाट झारेर सामूहिक रूपमा कुटपिट गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताएको छ । कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको भन्दै अवस्था सामान्य रहेको जानकारी दिए ।कान्तिपुरबाट