☰ open Loading... 1 May 2024|  

कर्णालीमा हिमपातः कुन जिल्लामा कति हिउँ र वर्षा भयो
  | २३ माघ २०७७, शुक्रबार १९:१७

सुर्खेत । बिहीबारदेखि परेको हिमपातले कर्णालीका जनजीवन प्रभावित बनाएको छ । पश्चिमी वायुको प्रभावले हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बनाएको हो ।



कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ भने हिमाली क्षेत्रबाहेक अन्य ठाउँमा वर्षा भएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यमसम्म हिमपात परेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत हाल नेपालगन्जका मौसमविद् रामबाबु मिश्रले जनाए । अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भएको उनले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसोदेखि मौसम सफा हुने ।

जुम्लामा शुक्रबार ८.३ मिलिमिटर हिउ वर्षा भएको छ । यहाँको न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियससम्म पुगेको छ । त्यस्तै हुम्लाको न्यूनतम तापक्रम २.७ पुगेको छ भने यहाँ ३.४ मिलिमिटर हिउ वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका फिल्ड इन्चार्ज हिमाल सिवाकोटीले जानकारी दिए । उनका अनुसार डोल्पाको न्यूनतम तापक्रम माइनस २.० डिग्री सेल्सियससम्म पुगेको छ । मुगुको तापक्रम माइनस ३.० सेल्सियस छ भने ९.० मिलिमिटर हिउ वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार कर्णालीको कालीकोटमा सबैभन्दा बढी वर्षा भएको छ । यहाँ २०.२ मिलिमिटर वर्षा भएको फिल्ड इन्चार्ज सिवाकोटीले जानकारी दिए ।