सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयर लाइन्सले सुर्खेतमा आफ्नो परीक्षण उडान गरेको छ । सोमबार बिहान ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा श्री एयर लाइन्सले सफल परीक्षण गरेको हो ।
कर्णालीका जनतालाई सहज हवाइ सेवा दिने उद्देश्यले काठमाडौं-सुर्खेत उडान गर्न लागेको श्री एयर लाइन्सले जनाएको छ । उडान परीक्षणका लागि श्री एयर लाइन्सको ८० सिटे जहाज नेपालगन्ज पुगेको थियो । नेपालगन्ज-सुर्खेत र सुर्खेत-नेपालगन्ज उडान उडान गरिएको थियो । परीक्षण उडान सफल भएकाले अबको केही समयमै नियमित उडान हुने नेपालगन्जस्थित श्री एयर लाइन्सका प्रमुख परसुराम चाधैरीले जानकारी दिए । ‘कर्णालीका जनतालाई सहज सेवा दिने उद्देश्यले उडान गर्न लागेका छौं,’ उनले भने, ‘आशा छ कर्णालीका जनताले यसमा साथ दिने छन् ।’ नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्नेबारे एयर लाइन्सका प्राविधिकहरुले अध्ययन गरिरहेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए । ‘आज त पाइलटहरु मात्र आउनुभएको हो, नियमित उडान गर्नका लागि कति लोड बोक्न सकिन्छ भन्नेबारे उहाँहरुले अध्ययन गर्नुहुन्छ,’ उनले भने, ‘२० देखि २२ डिग्रीसेल्सियस टेम्प्रेचरसम्म क्षमताअनुसारको लोड ल्याउन सकिन्छ भनेर पाइलटले भन्नुभएको छ, त्यसभन्दा धेरै भयो भने घटाउनुपर्ने हुनसक्छ ।’
श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ । नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनले बताए । हाल सुर्खेत-काठमाडौं बुद्ध एयरले मात्र उडान भर्दै आएको छ । उक्त एयरले मात्र काठमाडौं उडान हुँदा यात्रु महँगो भाडा तिरेर यात्रा गर्न बाध्य थिए । श्री एयर लाइन्सले नियमित उडान गरेपछि प्रतिस्पर्धाका आधारमा भाडा दर कम हुने कर्णालीवासीको अपेक्षा छ ।सुर्खेत-काठमाडौं टिकट महँगो हुँदा धेरैजसो यात्रु नेपालगन्जबाट काठमाडौंमा जान बाध्य छन् ।
| २७ माघ २०७७, मंगलवार ०६:२६