नेपालगञ्ज, । बुद्ध एयरले नेपालगन्ज (पोखरा उडान शुरु गर्ने भएको छ ।नेपालगन्ज स्टेशन म्यानेर बिनित विक्रम शाहका अनुसार, अप्रील दोस्रो सातादेखि उडान भर्ने तयारी भइरहेको छ ।बुद्ध एयरको यो निर्णयले नेपालगन्ज (पोखरा पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुर्याउने छ । पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले एक महिना अघि शुरु गरिएको नेपालगञ्ज–पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ । सोही क्रममा बुद्ध एयरले समेत उडान शुरु गर्न लागेको हो ।
पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि सातामा दुई दिन शुक्रबार र आइतबार हुँदै आएको उडानलाई थप गरेर बुधबार पनि शुरु गरिएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँकेले जनाएको छ ।पर्यटन व्यवसायीहरुको लामो प्रयासपछि निजी क्षेत्रको पहलबाट गत फागुन ७ गतेदेखि नेपालगञ्ज–पोखरा चार्टर उडान शुरु गरिएको थियो ।
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलका अनुसार भारतीय पर्यटकलगायत आन्तरिक पर्यटकलाई समेत पोखरा भ्रमण गराउने र गण्डकीका पर्यटकलाई बाँके र बर्दिया भ्रमण गराउने उद्देश्यले सीता एअरमार्फत् शुरु गरिएको नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज हवाई उडानमा यात्रुको चाप बढ्दै गएपछि उडान थप गरिएको हो ।
पर्यटकको सङ्ख्या बढ्दै गएपछि आफूहरु उत्साहित भएको जनाउँदै अध्यक्ष सिग्देलले यात्रु सङ्ख्या हेरेर उडान अझैँ थप गर्दै लगिने
बताए । बुद्ध एयरको निर्णयले उत्साहित बनाएको उनले बताए ।उनले बर्दिया निकुञ्ज अवलोकनसँगै भारत जाने पर्यटकहरु पोखराबाट यता आइरहेकाले बर्दियाका व्यवसायी पनि उत्साही बनेको जनाए ।
कोरोनाले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्रको प्रवर्धनका लागि नाटा बाँकेले बाँके, बर्दिया, कर्णालीको मुगु, प्युठान र सुदुरपश्चिमका पर्यटकीय क्षेत्रसँग नेपालगञ्जलाई साझै जोड्ने अभियान शुरु गरेको सिग्देलले जानकारी दिए ।शुरुमा सातामा दुईवटा चार्टर उडान गर्ने गरी सेवा शुरु गरिए पनि यात्रु बढ्दै गएकाले एक उडान थप गरिएको सीता एअर नेपालगञ्जले जनाएको छ ।पछि आवश्यकता अनुसार उडान सङ्ख्या अझैँ बढाउन सकिने पनि सो एअरलाइन्सले जनाएको छ ।लामो समयदेखि बाँके र बर्दियाका पर्यटन व्यवसायीले नेपालगञ्ज–पोखरा र नेपालगञ्ज–दिल्ली हवाई उडानका लागि प्रयास गर्दै आए पनि सरकारीस्तरबाट शुरु नगरिँदा निजी क्षेत्रबाट पोखरा उडान शुरु गरिएको हो ।नेपालगञ्ज–पोखरा उडान शुरु गरिएपछि पोखरा जान र फर्कन चाहने भारतीय पर्यटकहरु काठमाडौं पुगेर पोखरा जाने आउने बाध्यता अन्त्य भएको छ ।