हुम्ला —हुम्लाको ताजाकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी डेढ वर्षदेखि चौरमा पढ्न बाध्य छन् । झन्डै ५ सय विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।विद्यालय भवन निर्माणका लागि कर्णाली प्रदेश र संघीय सरकारले ९० लाख रुपैयाँ पठाए पनि उक्त बजेट गाउँपालिकाको खातामा थन्किएको छ । रकम आए पनि भवन नबन्दा विद्यार्थीले सास्ती भोग्नुपरेको स्थानीय कृष्ण मल्लले बताए । २०७६ साउन ३१ गते आएको बाढीले विद्यालय भवन भत्किएको हो ।
‘खाली चौरमा विद्यार्थी पढाउँदा बेलाबेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको प्रधानाध्यापक गंगादत्त जैसीले बताए । कक्षा ६ देखि १२ सम्म अध्यापन हुने विद्यालयमा टाढाका विद्यार्थीले समेत डेरा लिएर अध्ययन गरिरहेका छन् । ‘पानी परे विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कहिलेकाहीँ पालोपालो गरे विद्यार्थीलाई चौरमा पढाउने गरेका छौं ।’ कक्षा ८ देखि १० सम्मका विद्यार्थीले कक्षाकोठामा बसेर अध्ययन गरे पनि ६, ७, ११ र १२ का विद्यार्थीलाई चौरमा पढाउनुपर्ने प्रधानाध्यापक जैसीले बताए ।’