☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पनि वैकल्पिक उपाय अपनाउन सकिन्छ
  |

नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको छ । यसअघि दीर्घरोगी र वृद्धवृद्धा मात्र जोखिममा पर्ने गरेका भए पनि पछिल्लो तथ्याङ्कमा युवा र बालबालिका पनि सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । यसरी हेर्दा विद्यालय पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको क्षेत्रमा पर्छ ।

कोरोना सङ्क्रमण हुनै नदिनका लागि पूर्व सतर्कता अपनाउने र लक्षण देखिइसकेपछि पनि सावधानी अपनाएर पठनपाठन सञ्चालन गर्ने विषय निक्कै संवेदनशील रहेको छ । कोरोना सङ्क्रमणबाट बच्न र बालबालिकालाई जोगाउनका लागि सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गर्नु र गराउनु जरुरी छ । यसका लागि अभिभावक र विद्यालय दुवैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा जोड दिनुपर्छ ।

विशेष गरी मास्कको अनिवार्य पालना गर्ने, साबुनपानीले पटकपटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने कुराहरुलाई अनिवार्य रुपमा पालना गर्नुपर्छ । कुनै समस्या वा लक्षण देखिएमा डाक्टरसँग सल्लाह गर्नुपर्ने हुन्छ । कोरोनाको सङ्क्रमण देखिएको ठाउँका कतिपय विद्यालय बन्द गरिएका खबरहरु पनि आएका छन् ।

यद्यपि वस्तुस्थितिलाई विचार गरेर विद्यार्थीको पठनपाठन नबिथोलिने गरी कसरी विद्यालय सञ्चालन गर्ने र बन्द गर्नुपरेमा वैकल्पिक तरिकाले कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।

विद्यालय बन्द मात्र समस्याको समाधान होइन

अहिलेको अवस्था एकदमै चुनौतीपूर्ण अवस्था हो । विद्यालय बन्द मात्रै पनि समस्याको समाधान भने होइन । स्वास्थ्यसँग जोडिएको हुनाले विद्यालय बन्द गराउँदा जोखिम कम गर्न सकिन्छ भन्ने एउटा पक्ष हो । तर अर्को पक्षबाट हेर्ने हो भने स्कुल बन्द गरेपछि त्यसपछिको काम के भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण पक्ष हो ।

गएको वर्ष देशका कतिपय विद्यालय १० महिनासम्म पनि बन्द भए । कतिपय ठाउँमा त माघ, फागुन पछाडि पनि स्कुल सञ्चालनमा आए । त्यही भएर सङ्कटको अवस्थामा सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ तयार गरेको छ । त्यसमा सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गर्नका लागि विभिन्न विकल्पहरु त्यसमा समावेश गरिएको छ ।

त्यही ढाँचाको आधारमा रहेर कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी विभिन्न विकल्पहरु लागू गर्न पनि सकिन्छ । सम्बन्धित पालिका, सम्बन्धित जिल्ला कोभिड(१९ व्यवस्थापन समितिको समन्वयमा त्यहाँको वस्तुस्थितिको विश्लेषण गरेर विद्यालय बन्द गर्नुपर्ने वा सञ्चालन गर्नुपर्ने, आलोपालो गर्ने वा थोरै संख्यामा विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्ने लगायतका विषयमा विश्लेषण गरेर अगाडि बढ्नुपर्छ।

जोखिम बढ्दै गएको अवस्थामा, अबको दिनमा पनि यी कुराहरुलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने हुन्छ । पठनपाठनलाई निरन्तरता दिने वा विकल्पको रुपमा प्रस्तुत गर्ने भन्ने कुरा त्यसैलाई आधार मानेर गर्न सकिन्छ । यस्तै सरकारले वैकल्पिक सिकाई कार्यविधि, सहजीकरण निर्देशिका पनि जारी गरेको छ ।

विद्यालय बन्द गर्नुपर्ने अवस्था आए पनि वैकल्पिक उपाय अपनाउन सकिन्छ

विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो भने, बालबालिकाको सिकाइ प्रभावित नहोस् भन्नका लागि उपयुक्त ठाउँमा उपयुक्त अनलाइन प्रविधिको प्रयोगमा जोड दिनुपर्छ ।

अनलाइनको पहुँच भएको ठाउँमा अनलाइन माध्यमबाट र नभएको ठाउँमा टेलिभिजन, रेडियोबाट पनि पठनपाठन सञ्चालन गर्न सकिने भन्ने कार्यढाँचामा उल्लेख गरिएको भएकाले त्यो प्रावधानलाई पनि पालना गर्नुपर्ने हुन्छ ।

विद्यालय सञ्चालन कार्यढाँचामा भनेको जस्तो, अनिवार्य मास्कको प्रयोग, स्यानिटाइजरको प्रयोग, भीडभाड नगर्ने लगायतका कुराहरु सबै विद्यालयहरुमा पालना भएका हुँदैनन् । धेरै विद्यार्थी भएका ठाउँमा भीडभाड नगर्न भनेर सम्भव पनि हुँदैन ।

पछिल्लो अवस्था हेर्ने हो भने सहरी क्षेत्रमा धेरै भीडभाड देखिन्छ । त्यसले गर्दा सहरी क्षेत्रमा जोखिम पनि बढेको छ । कोरोनाको सङ्क्रमण देखिएको ठाउँमा पालिकाको समन्वयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएमा अनलाइन पद्दतिमा जान पनि सकियो ।

विद्यालय बन्द गर्नुपर्ने अवस्था नहुँदा पनि वैकल्पिक विधिमा आलोपालो गरी विद्यालय सञ्चालन गर्न सकिन्छ । उदाहरणका लागि ५ ,६, ७, ८ र ९ कक्षामा पढाइने विद्यालयमा एक सिफ्टमा ५ र ६ कक्षाका विद्यार्थीलाई मात्र बोलाउन सकिन्छ । त्यसो गर्ने सके पूर्वाधार पुग्दैन कि भन्ने पनि हुँदैन । साथै कोरोनाको जोखिम पनि हुँदैन ।

अर्को भनेको न्यूनतम सुरक्षासँग जोडिएका कुराहरु जस्तैस् साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, र मास्कको अनिवार्य प्रयोग गर्न लगाउने विषयमा कत्ति पनि चुक्नु हुँदैन । त्यसको लागि पालिकाहरुले विद्यालयलाई सहयोग गर्छ ।

विद्यालय पुनस् सञ्चालनको कुरामा स्रोतहरुको व्यवस्थापन गर्नु अति नै महत्त्वपूर्ण हुन्छ । स्वस्थ रहनु सबैभन्दा पहिलो र अनिवार्य कुरा हो । स्वास्थ्य सुरक्षा अवलम्बन गर्ने कुरामा कुनै पनि अवरोधहरु गर्नु हुँदैन। त्यो विषयमा विद्यालय र अभिभावकले पनि चासो देखाउनुपर्ने हुन्छ ।

स्वाभाविक रुपमा बालबालिका चञ्चले स्वभावका हुन्छन् । जसले गर्दा जतिसुकै सावधानी अपनाउन आग्रह गरेपनि सबैखालको सुरक्षा सावधानी अपनाउनमा बालबालिका सक्षम नहुन पनि सक्छन् । त्यस्तो अवस्थामा फेरि अर्को विकल्प लागू गर्नुपर्ने हुन सक्छ । जस्तो साना बालबालिकालाई केही समय नबोलाउने र ठूला कक्षाका विद्यार्थीहरु, जो स्वास्थ्य मापदण्डको पालना गर्छन्, भनेको बुझ्छन्, त्यस्ता बालबालिकालाई मात्र स्कुल बोलाएर पठनपाठन गराउन सकिन्छ ।

विद्यालय तथा अभिभावकले सचेतनाका कार्यक्रम पनि सँगसँगै लैजानुपर्छ । सचेतनाको जिम्मेवारी एउटा शिक्षकको मात्र हो भनेर बुझ्नु पनि भएन । सङ्क्रमणको दर बढिरहेको अवस्थामा विद्यालय मात्र बन्द बन्द गर्ने तर अरु क्षेत्र खुला गर्नु पनि प्रभावकारी हुँदैन ।

विद्यालय नजाँदा पनि कोरोनाको जोखिम उत्तिकै हुन्छ

एउटा विद्यालयमा केही समय अगाडि एक जना विद्यार्थीमा कोरोना सङ्क्रमण देखियो भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिपोर्टिङ भयो । त्यसबाट अरु बालबालिका र शिक्षकहरुमा कोरोना सर्यो भन्ने खबर भयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले त्यसको बारेमा बुझ्न आवश्यक ठान्यो । तर त्यो सङ्क्रमण स्कुल जाने विद्यार्थीमा भएको होइन रहेछ भन्ने पुष्टि भयो । त्यो सङ्क्रमण घरबाटै अनलाइन कक्षामा पढ्ने विद्यार्थीमा भएको रहेछ । घरका अरु सदस्यलाई पनि कोरोना भएको रहेछ । तर विद्यालयमा गएका कारण कोरोना सरेको भनेर दोष विद्यालयलाई लगाइएको रहेछ । यस्ता थुप्रै घटनाहरु छन् ।

यसको अर्थ विद्यालय नजाँदा पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम छ है भन्ने हो । विभिन्न क्षेत्र खुल्ला भएकाले जहाँसुकै लापरबाही गरेमा कोरोना सर्ने सम्भावना रहन्छ । बाबु, आमा काम गर्नका लागि बाहिर जाने भएकाले बालबालिका मात्रै घरमा हुन्छन् । अभिभावक घरबाहिर जाँदा सङ्क्रमण भएको छ भने घरमा पछि बालबालिकामा पनि सङ्क्रमण सर्ने डर उत्तिक्कै हुन्छ ।

विद्यालय बन्द गरेर मात्र कोरोना भाइरसको सङ्क्रमण नहुने भन्ने होइन । बरु सङ्क्रमणको दरलाई हेरेर पूर्ण रुपमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने र त्यो सम्भव नभएर पालिका, जिल्ला कोभिड संकट व्यवस्थापन समिति र केन्द्रसँग सल्लाह गरेर कुनै विधिबाट पठनपाठनलाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा छलफल गरेर अगाडि बढ्दा राम्रो हुन्छ ।

सुरक्षा सावधानी अपनाएर काम गर्नुको विकल्प छैन

सधैंभरि त्रासमा बाँचेर पनि साध्य हुँदैन । मान्छे जिउनु त पर्यो नै, काम गर्नै पर्यो, त्यही भएर सुरक्षा सावधानी अपनाउनुको विकल्प छैन । अबको ध्यान सुरक्षा सतर्कता अपनाउनेतर्फ केन्द्रित गर्नुपर्छ ।

विद्यालयमा सुरक्षित हुन सक्ने प्रत्याभूतिका साथ पठनपाठनलाई अगाडि बढाउन सकिन्छ । भौतिक उपस्थितिमा सम्भव नभए पनि वैकल्पिक विधिबाटै भए पनि बालबालिकाको पठनपाठन प्रभावित नहोस् भन्नेतर्फ ध्यान दिनु आवश्यक हुन्छ ।

कोरोना भाइरसको सङ्क्रमणका बेलामा मात्रै होइन, यस्तै खालको महामारीको बेलामा पनि वैकल्पिक शिक्षालाई जोड दिनुपर्ने हुन्छ । यस्ता खालका अरु महामारी नआउला भन्न पनि सकिँदैन । त्यसैले समग्र शिक्षाको क्षेत्रमा वैकल्पिक तरिकाले पठनपाठन गर्न सकिने कुरालाई पनि अगाडि बढाउँदै लैजानुपर्छ । पूर्वाधारलाई पनि सँगसँगै अगाडि बढाउँदै लैजानुपर्छ । आवश्यक तयारीका कामहरु आजैदेखि सुरु गर्नुपर्ने हुन्छ ।

अहिलेसम्मको अवस्था हेर्ने हो भने नेपालमा इन्टरनेटको सुविधा सबै ठाउँमा छैन । अनलाइन माध्यमबाट गरिने पठनपाठन पनि सबै ठाउँमा प्रभावकारी हुन सकेको छैन । सुविधा भएको ठाउँमा पनि शुल्क महँगो भएकाले सबै मानिसले उपभोग गर्न सक्ने अवस्था छैन । फेरि ग्रामिण क्षेत्रमा नेटवर्किङ कुराहरु पनि सँगै अगाडि आएका हुन्छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गरेको रेडियो र टेलिभिजनबाट गराइएको पठनपाठन पनि त्यति प्रभावकारी भने बन्न सकेन । सबै विद्यार्थी त्यसबाट पनि समेटिएनन् । धेरैभन्दा धेरै सिकाइ होस् । कोही पनि नछुटुन् भन्ने प्रयासमा सरकार रह्यो । तर पनि सोचेअनुसारको प्रभावकारी भने बन्न सकेन । त्यसैले अहिले भइरहेको अवस्थालाई विश्लेषण गरेर पछिको लागि तयारी गर्नुपर्ने कुराहरु र विकल्पहरु पनि सँगसँगै सोचेर जानुपर्ने अवस्था छ ।

सामान्य अवस्थामा जस्तै गरी पढाइ सञ्चालन गर्न कठिन छ

सङ्क्रमण नै फैलिएर अवस्था भयावह हुने अवस्था आएमा अरु खालका विकल्प पनि सोच्नै पर्छ ।

सङ्क्रमण फैलिएको ठाउँमा बन्द गर्नु त स्वाभाविक नै हो । तर अहिलेकै अवस्थामा तर्सिहाल्नुपर्ने अवस्था भने छैन । त्यसैले जहाँ त्रास देखिएको छ, त्यहाँ मात्र विकल्प सोचेर अरु ठाउँका पढाइलाई निरन्तरता दिनुपर्छ । अहिलेको संवेदनशील अवस्थामा कोर्स पूरा गर्नका लागि सामान्य अवस्थामा गरिने सबै खालका क्रियाकलाप हुबहु पालना गर्न सकिने अवस्था अहिले छैन ।

नत्र राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षको एसईईमा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिनुपर्ने हो नि । तर त्यसो गरेन । विद्यालयले नम्बर हाल्देको भरमा गएको वर्ष मूल्याङ्कन भयो ।

अहिलेको अवस्थामा पनि कोर्स पूरा हुन सक्ने अवस्था देखिएको छैन । कतिपय विद्यालयले हामी अनलाइनबाट पूरा गर्न सक्छौँ भनेर भनेका छन् । कोर्स नसकिएको भएर नै जेठमा मात्र एसईईको परीक्षा गर्ने भनेर भनिएको हो । दुर्भाग्य नै भन्नुपर्छ फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्ने अवस्था आयो । यसले फेरि पठनपाठन अवरुद्ध हुने अवस्था आएको छ ।

कोर्स पूरा भएन भने पनि पूर्णाङ्क घटाउने वा अरु विभिन्न खालका काम गर्न सकिन्छ । न्यूनतम कुराहरुलाई समेट्न सक्ने गरी पाठ्यक्रम खुम्च्याउन सकिने अभ्यास पनि गर्न सकिन्छ । शैक्षिक सत्र खेर जान नदिनका लागि तत्काल योजना बनाइएको छैन ।

अहिलेको सङ्क्रमणको अवस्था के रहन्छ रु त्यसपछि सबै सरोकारवाला निकायबीच छलफल गरेर बिस्तारै योजना बनाइन्छ । परिस्थितिजन्य अवस्थालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यति छिट्टै कोरोनाको जोखिम दोहोरिहाल्छ भन्ने कुरा कसैले पनि सोचेको कुरा होइन ।

विपत्ति बाजा बजाएर आउँदैन । तर पूर्वतयारी र सावधानी भने अपनाउनुपर्छ । हामीले कल्पना नै नगरेको भूकम्पको विपत्ति हामीले भोग्यौँ । अहिले कोरोनाको सामना गर्नुपर्यो, भोलि अर्को खालको विपत्ति आउन सक्छ । बालबालिकाको ठूलो हिस्सा विद्यालय जाने उमेरका हुने भएकाले सबैभन्दा पहिला विद्यालय बन्द गर्नतर्फ लाग्नुपरेको हो । विपत्तिमा, एक व्यक्ति वा संस्था मात्र लागि परेर हुँदैन, सबैले एकजुट भएर तयारी गर्नुपर्छ । उज्यालोबाट



प्रकाशित मितिः बिहिबार, बैशाख ९, २०७८     8:38:10 AM