☰ open Loading... 26 November 2024|  

स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव
  | ३ जेष्ठ २०७८, सोमबार ०७:०३

काठमाडौं । निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताएका हुन् ।

उनले स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने बताए । अमेरिकासँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि उनले बताए । चिकित्सा शिक्षा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने उनकमो भनाइ थियो ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए । उनले अक्सिजन आयात गर्न सरकारले भारत सरकारसँग संवाद गर्नुपर्नेमा जोड दिए । याे खबर काराेबार दैनिकमा छ ।