सोही दिन गुटुमा कोरोना जाँचका लागि स्वाव दिएका पेशाले शिक्षक तिर्थ पौडेलले स्वाव दिएको ११ दिन वित्दापनि कोरोनाको रिर्पोट नपाइएको दुखेसाे गरे । ‘घरमा परिवार विरामी छन् । उहाँहरुलाई सन्चो भएको छैन । हामीलगायत ३४ जनाले कोरोना जाँचका लागि स्वाव दिएका थियौं । अहिलेसम्म न त कोरोना संक्रमण भएको थाहा भएको छ न त अन्य रोगको उपचार गर्न पाइएको छ ।’
उनले गुनासो गरे, ‘कम्तिमा समयमै रिपोर्ट पाइदिएको भए त्यहि अनुसार औषधी मूलो गर्न पाइन्थ्यो । अन्य औषधी सेवन गरेको खण्डमा थप क्षति व्यहोर्नुपर्छ कि भन्ने भय छ । सिटामोलहरु, व्रोफिनहरु खाने र रिर्पोट कुर्ने काम मात्रै भइरहेको छ ।’
जाजरकोटका पत्रकार पवन खनालले कोरोनाको रिपोर्ट ८ दिनमा पनि नआउने गरेको गुनासो गरे । ‘वीरेन्द्रनगरमै चार पाँच दिनमा रिपोर्ट पाइन्छ रे । यहाँ त आठ दिनमा पनि कोरोनको रिपोर्ट पाईदैन । रिपोर्ट नआएका कारण सर्वसाधारण नागरिक समस्यामा परेका छन् ।’ उनी भन्छन्, ‘समयमै कोरोना भए नभएको थाहा पाएको भए सोही अनुसार उपचार गर्न सहज हुने थियो ।’
वीरेन्द्रनगर ४ का एक युवाले भने आफूले चौविस घन्टामा नै कोरोनाको रिपोर्ट पाएको बताए । ‘म अस्पतालमा गएँ । लाइन लागे र एक हजार रुपैंया तिरें ।’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘चौविस घन्टामा मेरो रिपोर्ट आएको हो । म अहिले होम आइसोलेसनमा बसेको छु ।’ उनले प्रदेश अस्पतालमा गएर एक हजार तिरेर स्वाव दिएको खण्डमा तत्कालै रिपोर्ट पाइने बताए ।
चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कोरोनाको रिपोर्ट ११ दिनसम्म नआएको बताए । ‘हामीले पठाएको लामो समय हुँदा पनि रिपोर्ट आएको छैन । स्वास्थ्य निर्देशनालयमा सोध्दा आउँछ भन्ने मात्रै जवाफ आइरहेको छ ।’ उनले भने ।
प्रयोगशालाका इन्चार्ज ओम शर्माले पाँच सयको क्षमता भएको बताउँदै अत्याधिक चाप बढेकाले समयमै रिपोर्ट दिन नसकिएको स्वीकार गरे ।
‘जाजरकोट सल्यानको पनि हामीले नै जाँच्नु पर्ने अवस्था आएको छ । सुर्खेतमै दैनिक हजारौं स्वाव संकलन भइरहेको छ ।’ उनी भन्छन्, ‘पहिलो प्राथमिकता अस्पतालमा उपचार गर्न आएकाहरुलाई दिने गरेका छौं । पैसा तिरेर स्वाव जाँच गराउनेहरुलाई नि प्राथमिकता दिइदै आएको छ । त्यसपछि हामीले अन्यको स्वाव जाँच गरिरहेका छौं ।’
उनले मेसिन अभाव हुनु, जनशक्तिको कमी हुनु, आवश्यक सामानहरु नहुनु पनि रिपोर्ट आउन ढिलाई हुनुको कारण भएको बताए । ‘दैनिक रुपमा हामी विदाको दिन पनि खटेर काम गर्दै आइरहेका छौं । अस्पतालका मेसु र निर्देशनालयका निर्देशकसँग हाम्रो कुरा भइरहेको छ ।’
उनले भने, ‘दोश्रो भेरियन्टको कोरोना आइसकेपछि हालसम्म प्रदेश सरकारका कोही पनि हाम्रा समस्याबारे बुझ्न आएका छैनन् ।’ उनले गत वर्ष चौविस घन्टा खटेर काम गरेपनि आवश्यक सेवा सुविधा नपाएको गुनासो गरे ।नेपाल प्रेसबाट