☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

सुसंस्कृत राजनीति बनाउन केही सुझाव
  |

सुसंस्कृत राजनीति बनाउन केही सुझाव

 

 

-विनोद सिंह धामी (विन्दास)

 

नेपाल बहुपार्टी भएको मुलुक हो । यहाँ बहुदलीय व्यवस्थाअनुसार बहुपार्टीहरु स्थापना गर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय मुलुकहरुको अभ्यास हेर्दा विकसित देशहरुमा दुईवटा मात्रै दल रहेको पाइन्छ भने विकासोन्मुख देशहरुमा दुईवटाभन्दा बढी पार्टीहरु अस्तित्वमा रहेका देखिन्छन् । दलीय व्यवस्था अस्तित्वमा आएदेखि अहिलेसम्म जीवन्त रहेका छन् । आन्तरिक र आम गरि दुई किसिमको निर्वाचन प्रणाली दलको जीवन रहेको हुन्छ । आन्तरिक निर्वाचनले पार्टीलाई लोकतान्त्रिक, प्रगतिशील, उन्नतशील, गतिशील, उर्जावान र सुदृढ बनाउनमा विकास गर्छ । आम निर्वाचनले पार्टीलाई जनताको सेवा वा सरकारको नेतृत्व गर्ने वैधानिकता प्रदान गर्छ ।

 

मुलतः राजनीतिक दलको स्थापना नागरिकको सेवा र सुविधाको पहरेदारीको लागि भएको हो । राजनीतिक दलको नेतृत्व गर्ने असंख्य नेताकार्यकर्ताहरुको जन्म भएको हुन्छ । समस्या, सामाजिक आन्दोलन, अन्याय, अत्याचार, विभेद, शोषण र दमनको अन्त्य गरि कानुनी राज्य, सुशासन, विधि र नीतिसहितको व्यवस्था संचालन गर्न राजनीतिक दल र नेताकार्यकर्ताहरुको विकास भएको हुन्छ ।

 

नेताकार्यकर्ताहरुको चयन चुनावमार्फत गरिने व्यवस्था रहेको हुन्छ । यसलाई ‘इलेक्टेड’ हुने प्रणाली पनि भनिन्छ । लोकतान्त्रिक व्यवस्थामा प्रायः आवधिक निर्वाचन हुने व्यवस्था रहेको हुन्छ । वा ५÷५ वर्षमा निर्वाचन हुन्छ । यो लोकतान्त्रिक व्यवस्थामा अनिवार्य छ । यसले निर्वाचनलाई अनुमान योग्य बनाउँछ । निर्वाचनको सुनिश्चितता गर्ने गर्दछ । यसो गर्दा लोकतन्त्र बलियो, मजबुत र दिगो हुँदै जानेछ ।

 

लोकतान्त्रिक व्यवस्थाको निर्वाचन प्रणालीमा थुप्रै समस्या रहेका छन् । उम्मेदवार चयन, प्रचारप्रसार, भोट गर्ने तरिका, शासन प्रशासन संचालन गर्ने योग्यता, विज्ञता, दक्षता, कार्यसम्पादन गर्ने कार्य कुशलता, निर्वाचन प्रक्रिया, नागरिकको आवश्यकता, चेतनाको स्तर, राष्ट्रिय स्रोत र साधन, भूराजनीतिक अवस्थिति, छिमेकी देशको उदयमान अर्थतन्त्र र विकास, दक्ष जनशक्ति, खुल्ला सीमा, उत्पादन प्रणाली, हाम्रो भौगोलिक संरचना, प्रमुख पेशा र व्यवसाय, हाम्रो श्रम गर्ने संस्कृति , दाताहरुको स्वार्थ रुपी सहयोग, अरुमाथीको निर्भरतालगायतका समस्याहरु रहेका छन् ।

 

खासगरी अब हुने स्थानीय तहको निर्वाचनमा दलहरूले आफ्ना उमेदवार छनोट गर्दा योग्य, दक्ष, कुशल र सक्षम व्यक्तिलाई छानुन् । नाता, जात, वर्ण, लिङ्ग, समुदाय, वर्ग र क्षेत्रभन्दा पनि कार्यसम्पादन कुशलतापूर्वक गर्न सक्ने तथा समन्वय, सहकार्य र सहमति गर्न सक्ने होस्  । प्रशासनसँग स्तर मिल्ने किसिमले नेतृत्वको चयन होस् । एउटा वडा कार्यालयको प्रशासनिक कार्यसम्पादन गर्ने व्यक्तिको न्यूनतम योग्यता कक्षा (१०) दस पास तोकिएको हुन्छ । प्रशासकीय प्रमुखको लागि स्नातक तोकिएको हुन्छ । जसले देशको संविधान, ऐन, कानुन, नीति, नियम, विविध क्षेत्रको अनुभव र ज्ञान अनिवार्य प्राप्त गर्नुपर्ने हुन्छ । जुन ‘सेलेक्टेड’ प्रणालीबाट आएको हुन्छ । त्यसैअनुरूप एउटा वडाको नेतृत्व गर्ने अध्यक्ष पनि कम्तीमा कक्षा दस (१०) पाससम्मलाई उम्मेदवार बनाइ दिनु होला । जसले पठाएको पत्रको जवाफ फर्काउन सकोस्, आफ्नो टेबलमा राखेको कम्प्युटर अन वा खोल्न सकोस् र सामान्य आफ्नो दैनिक कार्य डिजिटल प्रणालीमार्फत गर्न सकोस् । संवैधानिक व्यवस्था पढ्न, बुझ्न र कार्यान्वयन गर्न सकोस् । सभ्य र मिठो बोल्ने र लेख्ने होस् । विकास ढाँचासम्बन्धी आधारभूत ज्ञान होस् । आमनागरिकको विकासको आवश्यकता र विश्व परिस्थितिको विश्लेषण, मूल्यांकन र चेत राख्न सक्ने होस् । २÷४ महिनाको तालीमपश्चात् क्षमता अभिवृद्धि गर्न सक्ने होस् । सार्वजनिक जीवन र जिम्मेवारीको महत्व बुझेको, जानेको र अनुभव गरेको र माथिल्लो स्तरको लागि कम्तीमा स्नातक पास गरेको व्यक्ति चयन गरि दिनु होला । यसो भयो भने प्रशासनले पनि राजनीतिक नेतृत्वको सम्मान र कदर गर्नेछ । साथै एक अर्काबीचको सम्बन्ध पनि सुदृढ हुनेछ । राजनीति सङलो हुनेछ । प्रशासन र शासनबीच स्तर पनि कायम हुनेछ । राजनीतिक दलका नेताकार्यकर्ताहरुले यतिमात्र गर्नु सक्नु भयो भने करिब ६० प्रतिशत समस्या आफैं समाधान भएर जानेमा लेखक विश्वस्त छ । त्यहि प्रतिशतमा विकास पनि हुँदै जानेमा म पूर्ण आशावादी छु ।

 

विशेषगरी पढेलेखेका युवायुवती, महिला र दलित समुदाय एवं अन्य क्षेत्रबाट नयाँ अनुहार आकर्षित गराउने गरि दलहरूले छनोट गर्नु होला । जबसम्म युवा वर्गको रोजाइमा राजनीति पर्दैन, न समाजको समग्र विकास हुन्छ, न समाजले योग्य व्यक्ति प्राप्त गर्दछ । सकेसम्म विषयगत क्षेत्रहरुको विविध ज्ञान् भएका व्यक्ति भित्र्याउन पाए निकै राम्रो हुनेछ । जसले सामान्य कानुनको ज्ञान राख्छन्, संविधान र ऐन नियमको जानकारी राख्छन्, विकासका विभिन्न मोडेल बारे जानकार, सामाजिक समस्या समाधान गर्ने सुजबुझ, आर्थिक समस्या माथी नयाँ उपाय निकाल्न सक्ने, आन्तरिक उत्पादन र गतिविधि सृजना गरि रोजगारी प्रदान गर्न सक्ने नेतृत्वको चयन होस् ।

 

शिक्षाको पुनर्संरचना गर्न सक्ने, उचित स्वास्थ्यको प्रबन्ध गर्न सक्ने, रोजगारीको सुनिश्चितता गरि गरीबी न्यूनीकरण गर्न सक्ने, कृषिको रुपान्तरण गरि रोजगारी सृजना गर्न सक्ने, सडक यातायातको विकास र विस्तार गर्न सक्ने, प्राकृतिक स्रोत र साधनको सहि परिचालन गर्न सक्ने, गुणस्तरसहितको मानवीय जीवन उत्थान गर्ने, जनपक्षीय विकास गर्ने, वातावरणीय र भौगोलिक वातावरण अनुरुपको विकासको मोडेल तय गर्ने, सार्वजनिक सम्पत्तिको उचित व्यवस्थापन र प्रयोग गर्ने, सम्भावित जोखिमको आकलन र व्यवस्थापन गर्न सक्ने, पर्यटनको विकासको  निर्माण गर्न सक्ने, आर्थिक र सामाजिक, राजनीतिक र प्रशासनिक, वातावरणीय र भौगोलिक, धार्मिक र सांस्कृतिक, मानवीय र सुशासन बारेमा ज्ञान भएको व्यक्तिको चयन गर्नु चयन गरियोस् ।

 

योग्यता, विज्ञता, दक्षता, सीपयुक्त, कार्यकुशलता भएको व्यक्तिको छनोट गरियोस् । बजारको निर्माण गर्न सक्ने, प्रदेश र संघीय सरकारसँग सहकार्य गर्न सक्ने, स्थानीय तहको ज्ञान र जानकारी भएको, विधुत, खानेपानी, सिचाइ, स्रोतको उत्खनन र प्रयोग गर्न सक्ने क्षमता भएको व्यक्तिको चयन होस् । पशुपालन, फलफूल खेती, तरकारी व्यवसाय, खेतीपाती, जडिबुटी, नयाँ–नयाँ उद्यम संचालन र व्यवस्थापन गर्न सक्ने व्यक्तिको छनोट होस् । विश्व बजारमा आएका नयाँ–नयाँ प्रविधिको बारेमा सामान्य जानकारी र प्रयोग गर्ने कला र ज्ञान भएको व्यक्तिको चयन गरियोस् । बाटो घाटो, पुलपुलेसा, वनजंगलको, वन्यजन्तुको संरक्षण, विकास, सम्बद्र्धन र प्रबद्र्धन गर्ने, प्राकृतिक स्रोतको बहुउपयोगी संरक्षणमुखी उपयोग गर्ने शैली भएको, आन्तरिक र बाह्य  स्थानीय तहसँग प्रतिस्पर्धा गर्न सक्ने, कर्मचारी परिचालन गर्ने विलक्षण कला भएको व्यक्तिको चयन होस् । युवा युवती, महिला, दलित, पछाडि परेका, वर्ग, समुदाय, क्षेत्र, जातको संरक्षण, विकासमा चासो र चिन्ता भएको व्यक्तिको चयन होस् । सार्वजनिक सेवा प्रवाह छिटोछरितो प्रदान गर्ने कलायुक्त भएका व्यक्तिको छनोट होस् । बालवालिका मैत्री वातावरण सृजना गर्न सक्ने व्यक्तिको चयन होस् ।

 

सारमा भन्दा सहि स्थानमा सहि व्यक्तिको चयनले गुणस्तर र राम्रो परिणाम दिनेछन । ठिक मानिसको ठिक ठाउँमा चयन हुँदा परिणाम सहि आउने गर्छ । नाता गोता, चिनजान, आफन्त, निकटताको आधारमा चयन गर्दा योग्यता, दक्षता, विज्ञता, कार्यकुशलता, कार्यसम्पादन कला, अनुभव, दीर्घकालीन सोच, फार साइट भएको व्यक्तिको चयन अनिवार्य छ । सार्वजनिक पद, जिम्मेवारी र दायित्वको बोध भएको । स्रोत र सम्पत्तिको सहि प्रयोग र व्यवस्थापन गर्न सक्ने । जन आवश्यकता अनुरुपको विकास गर्ने तरिका भएको । सम्बन्धको स्तर कायम गर्न सक्ने । संविधान, नियम कानुन, ऐनको सामान्य सुझबुझ भएको । आर्थिक मितव्ययिता कायम गर्ने । सहि नीति तय गर्ने । सम्बन्धलाई आवश्यकता अनुरुप पुनर्परिभाषित गर्न सक्ने । वातावरणीय र भौगोलिक संरचना अनुसार विकास गर्न सक्ने । जनताको जीवन स्तर उकास्ने भावनाबाट प्रेरित भएको व्यक्तिको चयनले राजनीतिक दलको सुदृढीकरण हुनेछ । सभ्य र भव्य राजनीतिक संस्कारको विकास हुँदै जानेछ । लोकतान्त्रिक व्यवस्था बलियो र मजबुत हुँदै जानेछ । योग व्यक्तिले स्थान पाउनेछ । विकासले गति पाउनेछ । स्रोत र साधनको सहि उपयोग हुनेछ । व्यवस्थापन र परिचालन हुनेछ । प्रविधि युक्त कार्यको थालनी हुनेछ । नेतृत्व चयनमा परिवर्तन गर्नु आजको अनिवार्य आवश्यकता हो । यसमा विशेष गरि युवा वर्ग, सचेत, पढेलेखेका वर्ग र आम बुद्धिजीवी, समाजसेवी, कर्मचारी, पेशागत, नागरिक समाजको सकारात्मक भुमिका अनिवार्य छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     8:50:43 AM