☰ open Loading... 18 May 2024|  

‘मेरो जस्तै पीडा अरूले नभोगून्’
  | २ असार २०७८, बुधबार ०५:३१

दैलेख (नौमुले) । नौमुले–३ गोपेनीकी नन्दकली रोकाया अहिले ६४ वर्षकी भइन् । १९ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी नन्दकलीले विवाहपछि लगातार चार सन्तान जन्माइन् । श्रीमान्को मायाका कारण उनले दुःखमा पनि खुसी देखेकी थिइन् ।

छोराछोरी ठूला भएपछि जीवन अझ बढी उल्लासमय हुन्छ भन्ने उनको सोचाइ थियो । तर, जीवन सोचे जस्तो कहाँ हुन्छ र ? दैवको लीला नै भनौं, ३० वर्षकै हुँदा उनको खुसी दैवले खोसे । श्रीमान्को मृत्युपछि दुःखजिलो गरेर, एक छाक खाएर भए पनि छोराछोरी हुर्काइन् । छोराछोरीकै मायाले बाँधेकै कारण उनले जवानीमै पति वियोगमा परे पनि अर्को विवाह गरिनन् । २०५६ सालमा छोरा अमरको विवाह गरिदिइन् । उनीहरूबाट एक नातिनीको जन्म भयो । उनले यसलाई ठूलो खुसीका रूपमा लिइन् ।

त्यसबेला माओवादी ‘जनयुद्ध’ उत्कर्षमा थियो । गाउँका तरुना तन्नेरीलाई माओवादीले अपहरण गरेर लगेको खबर आइरहन्थ्यो । ‘मेरो पनि छोरालाई लाने पो हुन् कि ?’ नन्दकलीलाई डर लाग्यो । बुहारी दुई महिनाको सुत्केरी थिइन् । छोरा अमरबहादुरलाई माओवादीले नलैजाउन् भन्दै जिल्ला सदरमुकाम पठाइन् । एक महिना जिल्ला सदरमुकाम बसेका अमर घर फर्किए । घरमा गएको मौकामा अमरबहादुरलाई तत्कालीन माओवादीले घरबाटै अपहरण गरे । ‘म घरको भुइँ तलामा सुतेको थिएँ, छोराबुहारी माथिल्लो तलामा सुत्थे । राति आएर माओवादीले छोरालाई लिएर गएछ,’ नन्दकलीले सम्झिइन् ।

एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग बाँच्नुबाहेक अर्काे विकल्प थिएन । छोराको हत्यापछि बुहारीले अर्को विवाह गरेपछि नातिनीलाई हुर्काउने जिम्मा पनि उनीमाथि नै आइलाग्यो । तर, अहिले तिनै नातिनी उनको बुढेसकालको सहारा बनेकी छन् ।

छोरालाई घर ल्याउन भन्दै नन्दकलीले ८ हजार रुपैयाँमा गोरु बेचिन् । छोराको अवस्थाबारे उनले गाउँका जान्ने बुझ्ने सबैलाई सोधिन् । माओवादीको स्थानीय नेतृत्वबाट एक÷दुई दिनपछि छोड्ने आश्वासन पाइन् । छोरा आउने आशमा रहेकी नन्दकली धेरै दिन भोकै बसिन् । छोरालाई केही नहोस् भनेर देवीदेवताको भाकलसमेत गरिन् । उनको मनको इच्छा न देवीदेवताले बुझे न त माओवादीले । अपहरण भएको एक महिनापछि साबिकको रानीवन गाविसमा २०५९ मा माओवादीले अमरबहादुरको हत्या गरे ।

तत्कालीन समयमा द्धारी, बालुवाटार, सल्लेरी, कालिका, चौराठा र तोली गाविस माओवादीको आधार इलाका मानिन्थ्यो । सरकारको उपस्थिति नहुँदा माओवादीको एकलौटी राज थियो । उनीसँग मरेको छोरा सझिनुको विकल्प रहेन ।

एकपछि अर्को पीडा खेप्दै गएकी नन्दकलीसँग कुनै विकल्प थिएन जसरी पनि बाँच्नुबाहेक । छोराको हत्यापछि बुहारीले अर्को विवाह गरिन् । शान्ति सम्झौतापछि नेपाल सरकारले दिएको राहतसमेत बुहारीले आधा लगेको नन्दकली बताउँछिन् । बुहारी गए पनि नातिनीलाई उनले आफैंसँग राखिन् । अहिले उनको हेरचाह नातिनीले गर्दै आएकी छन् ।

नातिनीलाई विवाहपछि आफ्नै घरमा बोलाएकी नन्दकलीको हेरचाह अहिले नातिनीले गर्दै आएकी छन् । अहिले नन्दकलीलाई खाना लाउन समस्या छ । शारीरिक अवस्था कमजोर हुँदै गएको छ । मुटु दुख्ने, मधुमेहसमेतको बिरामी छन् । पैसा नहुँदा घरमै रोग पालेर बसेकी छन् ।

अहिले उनलाई छोराको सम्झनाले बढी नै सताउने गरेको छ । वनमा न्याउली चरो कराउँदा पनि उनलाई छोराकै सम्झनाले सताउने गरेको छ । ‘खै के भएको हो, वनमा न्याउली चरी कराउँदा पनि छोरा न्याउलीको भेष गरेर आयो कि जस्तो लाग्छ र स्वर सुन्नेबित्तिकै आँगनमा पानी राखिदिन्छु,’ उनले भनिन् । जीवनमा दुःखै दुःख झेलेकी नन्दकलीको एउटै मात्र धोको छ ‘देशमा फेरि युद्ध नहोस् । मेरो जस्तै अरू नारीले पिडा भोग्नु नपरोस् ।’राजधानी बाट