☰ open Loading... 17 May 2024|  

नागरिकको सुरक्षामा सक्रिय प्रहरी नै असुरक्षित
  | ९ असार २०७८, बुधबार ०५:२१

 

जाजरकोट- नागरिकको जिउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैं असुरक्षित भएको पाइएको छ। जाजरकोटका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा छन्। ती भवनमा हिउँदमा चिसो र वर्षामा पानी चुहिने भएकाले समस्या भएको प्रहरीहरुको गुनासो छ। यस्तै, बाथरुम, शौचालय र खानेपानीको समस्या पनि छ।

आफ्नै भवन भएको ठाउँमा समेत छाना चुहिँदा समस्या छ। आफ्ना समस्याहरुबो पटक–पटक जानकारी गरे पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ।

जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जीर्ण हुँदा कतिखेर भत्किन्छ भन्ने पीर रहेको त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरु बताउँछन्। वडा नम्बर १ रिम्नामा आफ्नै भवन भए पनि खानेपानीको अभाव रहेको डिएसपी मधु थापाले बताए। वडा नम्बर ११ जगतीपुर, वडा नम्बर १२ मटेला, वडा नम्बर १३ मा रहेको चौकीमा छानो चुहिने, खानेपानी र शौचालयको समस्या रहेको छ। वडा नम्बर ३ ठाटीमा भवनको अभाव तथा पहिरोको जोखिम छ।

वडा नम्बर ३ स्यालमा भाडाको घरमा बसेर सुरक्षा दिनु परेको छ। त्यस्तै, वडा नम्वर १ को रावतगाउँ होलुखोलमा भाडाको रहेका प्रहरी चौकीमा सेवा दिइरहेको बताएको छ।

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नम्बर ९ पन्चाला दहमा जीर्ण भवनमा बसेर काम सेवा दिइरहेका छन्। त्यहाँ शौचालयको समस्या भएको प्रहरीले बताएका छन्। बारेकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ८ मा भाडाको भवनमा प्रहरी चौकी रहेको छ।

त्यस्तै नलगाड नगरपालिका–८ मैदेमा भाडामा रहेको भवनमा शौचालयको समस्या छ। वडा नम्बर ११ मा समेत भाडामै घरमा प्रहरी चौकी रहेको छ। कुशे गाउँपलिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा बाथरुम नहुँदा समस्या भएको प्रहरी कर्मचारीहरु बताउँछन्। यस्तै, भान्सामा पानी चुहिँदा समस्या छ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरी चौकीको आफ्नै भवन रहे पनि चुहिने समस्या रहेको छ। शिवालय गाउँपालिका–१ छेडाचौरमा भान्सा घर चुहिँदा खाना पकाउन मुस्किल भएको बताउँछन्। यस्तै, त्यहाँ खानेपानीको अभावमा भेरी नदीको पानी पिउनुपर्ने बाध्यता छ। वडा नम्बर ५ को थालारैकरको भवन समेत भाडामा रहेको छ।