काठमाडौँ — नेपाली सेनाले नेपाल प्रहरीलाई ३ सय नाल हतियारसहित त्यसका एम्युनिसन र सम्बद्ध सामग्री प्रदान गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा सोमबार आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
उक्त सामग्री नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि सरकारले उपलब्ध गराउनको लागि सेनालाई निर्देशन दिएको थियो ।
उक्त हतियार तथा एम्युनिसन तीन चरणमा उपलब्ध गराउने योजनाअनुसार बाँकी हतियार तथा एम्युनिसन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले विज्ञप्तिमार्फत जनाएको छ । उपलब्ध गराइएका हतियारहरु को मर्मत तथा अपरेसन तालिमसमेत प्रहरीलाई प्रदान गरिने सेनाले जनाएको छ ।
‘यसबाट नेपाल प्रहरीको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।