☰ open Loading... 17 May 2024|  

तलब नपाएको भन्दै नगरपालिकाका कर्मचारी आन्दोलित
  | २ श्रावण २०७८, शनिबार ०५:१३

 

सल्यान- उनीहरुले ६ महिनादेखि तलब नपाएको भन्दै सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन्।संघीय सरकारको परिपत्रअनुसार नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई तलब दिन नसकिने निर्णय गरेको थियो। तर, यसबारे कर्मचारीलाई कुनै जानकारी नदिएको आन्दोलनकारीको भनाइ छ। करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले भने, ‘नगरपालिकाले न हामीलाई जागिर छोडन परिपत्र नै गर्यो न तलब भत्ता नै दियो।’

करार कर्मचारीले साविक गाविस हुँदादेखि हालसम्म वडा धानिरहेको भए पनि अहिले नगरका करार कर्मचारीलाई घर न घाटको बनाएको उनको भनाइ छ। नगरले कार्यविधि बनाएर बेरोजगारलाई रोजगारी दिने नीति ल्याएको भए पनि भएका कर्मचारीलाई हटाएर बरोजगार बनाएको विकले बताए। ‘गाविस हुँदादेखि सलेपाको रुपमा काम गरिरहेको र अहिले आएर नगरपालिकाले सामाजिक परिचालन भनेर नियुक्ति गरेको छ,’ उनले भने, ‘तर तलब भने दिन मानी रहेको छैन।’

आफुहरुको जागिर सुनिश्चित गरिदिन नगरप्रमुख गोविन्दकुमार पुनलाई पटकपटक ध्यानाकर्षणपत्र पेश गरेको संघर्ष समितिका संयोजक विकले बताए। नगरप्रमुख पुनले भने कामकाज गरिरहेको कर्मचारीहरुलाई कुनै माध्यम बाट भए पनि तलबको व्यवस्थापन गर्ने बताउँछन्। प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मीले भने अक्तियार र सामान्य प्रशासन मन्त्रालयबाट प्रशासनिक दरबन्दीबाहेक अन्य दरबन्दी कर्मचारी नराख्न दिर्नेशन दिएको र त्यसअनुसार नगर कार्यापालिकाको बैठक नराख्ने निर्णय गरेको बताए।