☰ open Loading... 18 May 2024|  

कर्णालीमा ५ प्रतिशतले मात्रै लगाए कोरोनाविरुद्धको खोप
  | १२ श्रावण २०७८, मंगलवार ०६:०५

सुर्खेत, । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको साँढे ५ महिनाको अवधिमा कर्णालीमा ४४ हजार जनालाई कोरोना विरुद्ध खोपको दुवै मात्रा लगाइएको छ । प्रदेशभर हालसम्म पाँच प्रतिशत जनसंख्याले मात्र खोप पाएका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार खोपको लक्षित वर्गमध्ये पाँच प्रतिशतले पहिलो र दोस्रो दुवै डोज लगाएका हुन् । निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले प्रदेशमा १८ वर्ष माथिको उमेर समूहलाई मात्र लगाउने भएकाले कर्णालीमा खोप दिनुपर्ने जनसंख्या साढे नौ लाख रहेको प्रक्षेपण गरिएको बताए । उनका अनुसार पहिलो चरणमा खोप लगाएका एक लाख ३४ हजार नौ सय ८१ जनामध्ये ८२ हजार ६ सय ७० जना कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकी छन् । उनीहरूले पहिलो डोज लगाएको चार महिना बितिसकेको छ ।

कोभिसिल्ड खोप आयात नहुँदा उक्त संख्यालाई दोस्रो डोज दिन समस्या भएको हो । प्रदेशमा अझै सात लाखको हाराहारीमा कोभिसिल्ड खोपको आवश्यकता रहेको डाक्टर खड्काले बताए । कोभिसिल्डको पहिलो मात्रा एक लाख आठ हजार चार सय ८६ जनाले लगाएका छन । तीमध्ये २५ हजार आठ सय १६ जनाले मात्रै दुवै डोज लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो डोज लगाएका २७ हजार ६ सय ६८ मध्ये, १८ एक सय ३९ जनाले भेरोसेलको दोस्रो डोज लागएका छन् । यस्तै, कोरोनाविरुद्धको खोप अभियानको पाँचौँ चरणमा कर्णालीका ४६ हजार बढीलाई खोप लगाइँदै छ । हिजो भेरोसेल र जोन्सन गरी ६० हजार डोज खोप कर्णालीमा आइपुगेको छ । भेरोसेलको ४३ हजार डोज ल्याइएको हो भने एक पटक मात्र लगाए पुग्ने जोन्सन खोप १७ हजार डोज आएको निर्देशक खड्काले जानकारी दिए ।