☰ open Loading... 29 November 2024|  

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध सर्वोच्चमा रिट
  | १ भाद्र २०७८, मंगलवार ०५:०५

 

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय लगायतलाई विपक्षी बनाई शाक्यको वारिसका रुपमा प्रेमकुमार काफ्लेले उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

रिट निवेदनमा यही साउन २५ गतेको मन्त्रिपरिषद्को निर्णय र सो निर्णयका आधारमा भएका पत्राचार कार्यान्वयन नगर्न आदेश गरी आफूलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा काम गर्न दिलाउन अन्तरिम आदेशको माग गरिएको छ । अदालतमा उक्त रिट निवेदनको बुधबार सुनुवाइ हुनेछ ।

यही साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो भने साउन २७ मा नियुक्ति पत्र बुझे लगत्तै घिसिङले काम सुरु गर्नुभएको थियो ।