☰ open Loading... 3 May 2024|  

कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य हुँदैन- अर्थमन्त्री शर्मा
  | ५ भाद्र २०७८, शनिबार ०५:०६

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले काठमाडौंमा गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य हुँदैन ।

कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम नभै राष्ट्रिय कार्यक्रमनै भएको अर्थमन्त्री शर्माले उल्लेख गर्नुभयो । त्यसको लागि लगानी गर्नु बैंकहरुको पनि राष्ट्रिय दायित्व भएको उहाँको भनाइ छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी दर ३९.५ प्रतिशत रहेको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा २५.५ प्रतिशत र प्रदेश नं. २ मा बहुआयामिक गरिबी दर २४.५ प्रतिशत रहेको छ । गरिबी अन्त्यको सुरुवात कृषि र कृषिजन्य उत्पादन बृद्धिको अभियानबाट गर्नसकिने भन्दै मन्त्री शर्माले ‘किसानको मेलामा गएर ऋण सहायता बाँड्ने र खलोमा गएर असुल गर्ने नीति’ अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।