काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १३० पुगेको छ । यस्तै डिजेल र मट्टितेल प्रतिलिटर रु ११३ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १२८, डिजेल र मट्टितेल प्रतिलिटर रु १११ मा बिक्री हुँदै आएको थियो ।
निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको छ । यसअघि प्रतिसिलिन्डर रु एक हजार ४२५ मा कारोबार हुँदै आएको ग्यास अब रु एक हजार ४५० पुगेको छ ।
आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर रु दुईले वृद्धि भई रु ८६ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।
मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा रु एक अर्ब १५ करोड २२ लाख बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।