☰ open Loading... 18 April 2024|  

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी
  | २१ भाद्र २०७८, सोमबार ०६:४९

दैलेख-  भदाैं ५ गते  भैरवी गाउँपालिका–५ डोक्रा गाउँकी २० वर्षीया डिलकुमारी नेपालीलाई लामो प्रसूति ब्यथा लाग्यो। गाउँमा प्रसूति गृह नहुँदा गोठमै सुत्केरी भईन्। उनले पहिलो सन्तान जन्माएपनि बचाउन सकिनन्।

स्वास्थ्यकर्मीको निगरानी तथा सुरक्षित प्रसूति नभएकै कारण बच्चाले ज्यान गुमाउनुपर्‍यो। उनी मात्रै होइन डोक्रा गाउँका २ सय बढी घरधुरीको समस्या यहि हो। डोक्रा मात्र होइन दैलेखका अधिकांस ग्रामिण भेकमा सुत्केरी ब्यथा लागेसँगै गोठमा प्रसूति हुनुपर्ने बाध्यता महिलाहरुमा रहेको छ। गाउँमा प्रसूति गृह नहुँदा अधिकांस महिलाहरु घर/गोठमै सुत्केरी हुनुपर्ने बाध्यता जस्तै बनेको डोक्रा गाउँमा १६ वर्षदेखि महिला स्वयंसेविकाका रुपमा काम गरेकी धनकुमारी रानाले बताईन्।

‘३ घण्टा टाढा रहेको भैरिकालिकाथुम स्वास्थ्य चौकीमा यहाँबाट सुत्केरी हुन विरलै जाने गरेका छन्। ’स्वयंसेविका रानाले भनिन्, ‘भौगलिक रुपमा टाढा भएकाले स्वास्थ्य चौकी जान मान्दैनन्।’

स्थानीयका अनुसार वर्षातमा त खोला बढ्ने भएकाले अन्य मानिसहरु समेत आउँजाउँ गर्न कठिन हुने गर्दछ। ‘गाउँमै प्रसूति गृह भए महिलाहरुका लागि सजिलो हुने थियो।’ स्वयंसेविका रानाले थप्दै भनिन्, ‘स्वास्थ्य सेवा इकाई गाउँमा भए पनि प्रसूति गृहका लागि मान्यता पाएको छैन जसले गर्दा गर्भवती महिलाहरुले दुःख पाएका छन्।’

गाउँपालिकाले प्रसूति गृह सञ्चालनका लागि चासो नदिँदा सैनचौरदेखि डोक्रासम्म ठूलो क्षेत्रफलमा फैलिएको गाउँमा महिलाहरु सुरक्षित सुत्केरी हुन पाईरहेका छैनन्। स्वास्थ्य सेवा इकाईको भवन भएपनि उपकरण र प्रसूति गृहको मान्यता नपाउँदा काम गर्न कठिन भएको अनमी भावना थापाले बताईन्।

‘गाउँ विकट छ त्यसमा पनि स्वास्थ्य चौकी पुग्न झ्न टाढा छ।’ उनले भनिन्, ‘प्रसूति गृह सञ्चालन अनुमतिका लागि वडाअध्यक्ष र गाउँपालिकाका अध्यक्षलाई बारम्वार भन्दा पनि सुनुवाई भएन।’ वर्षातमा यहाँका विरामी अस्पतालसम्म लैजान कठिन हुने गरेको छ।

जिल्लाका विकट महावु, टाटीकाँध, नौमुले, भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रसूति गृहदेखि गाउँहरु टाढा हुँदा घरमै सुत्केरी हुने गरेको जनाईएको छ। स्वास्थ्य चौकी टाढा हुँदा डोक्रा गाउँमा घर त के गोठमै सुत्केरी हुने गरेको डरलाग्दो तथ्यांक रहेको हुँदा त्यहाँ प्रसूति गृहका लागि सबै लागेर बनाउनुपर्ने भैरिकालिकाथुम स्वास्थ्य चौकीका इन्जार्ज करुणखर खत्रीले बताए।

घर/गोठमै सुत्केरी हुने गरेको खवर आएकाले डोक्रामा प्रसूति गृह चालु वर्षमै बनाएर सञ्चालन गर्ने आफूहरुको तयारी रहेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।